काठमाण्डौ: पर्सामा किर्ते हस्ताक्षर गरी नगद रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २२ वर्षीय नादिर साह पक्राउ परेका हुन् ।
वीरगन्ज महानगरपालिका–१३ बस्ने चितवन भरतपुर महानगरपालिका–६ की मीरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय वीरगन्जमा रहेको खाताको हस्ताक्षर किर्ते गरी अपरिचित व्यक्तिले मोबाइल नम्बरबाट मीराकै मोबाइल बैकिङ सेवा सुचारु गरी पटक–पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध ठगीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
