काठमाण्डौः ६ जनाको ज्यान गर्ने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले आदेश गरेको छ।
बुधबार जिल्ला अदालत रुकुमकोटले युवक नवराज विकसँग प्रेम सम्बन्ध भएकी युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। थुनछेक बहस सकी अदालतले यस्तो आदेश जारी गरेको हो। प्रतिवादी बनाइएका दुई जना भने नाबालक भएकाले सुधारगृह चलान भइसकेका छन् भने अन्य ५ जना अझसम्म फरार छन्। अभियुक्त भनिएका ३ जना भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।
शुक्रबारदेखि चलेको थुनछेक बहसपछि बुधबार प्रतिवादीका कानुनी सहयोगीले माग गरेको धरौटीमा रिहा गर्न अस्वीकार गर्दै २३ अभियुक्तलाई सरकारीपक्षको माग अनुसार पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
