सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

२०८० फागुण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भ्रष्टाचार विश्वव्यापी महारोग हो । कुनै पनि मुलुकले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकेको छैन । भ्रष्टाचार र सुशासनको अवस्थाको अध्ययन गर्दै प्रतिवर्ष प्रतिवेदन दिने महत्वपूर्ण कार्य ट्रान्सपरेन्सी इन्टरनेसनलले गर्दै आएको छ । यस संस्थाले ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने मुलुकहरूलाई अतिभ्रष्ट मुलुकको वर्गमा राखेको छ । भ्रष्टाचार व्याप्त हुँदैगर्दा सुशासनको अवस्था कमजोर बन्छ । त्यसैले, भ्रष्टाचार र सुशासनको बीचमा विपरीत सम्बन्ध रहेको हुन्छ । भ्रष्टाचार बढ्दा सुशासनको अवस्था कमजोर हुन्छ, भ्रष्टाचार नियन्त्रण हुँदैगर्दा सुशासनको अवस्थामा सुधार आउने गर्छ । यसका प्रतिवेदनहरू अध्ययन गर्दा हालसम्म सबैभन्दा बढी अंक ल्याई भ्रष्टाचार नियन्त्रण गर्न अब्बल देखिएको मुलुक डेनमार्क हो । यस मुलुकले ९२ अंकसम्म ल्याएको छ । यसको अर्थ स्पष्ट छ, डेनमार्कमा पनि ८ प्रतिशत भ्रष्टाचार छ । न्युजिल्यान्ड, नर्वे, स्वीडेन, स्वीट्जरल्यान्ड, फिनल्यान्ड आदि मुलुकहरूमा पनि भ्रष्टाचार नियन्त्रणको दिशामा सफलता मिलिराखेको छ । प्रतिवर्ष यस दिशामा अत्यन्त न्यून प्रगति भएको देखिन्छ । कतिपय मुलुकहरूमा भ्रष्टाचारको अवस्था प्रतिवर्ष बिग्रिँदै गएको पनि छ । तर, सोमालिया यस्तो मुलुक भएको छ, जहाँ सबैभन्दा बढी भ्रष्टाचार हुन्छ । दक्षिण सुडान र सोमालिया सबैभन्दा बढी भ्रष्ट मुलुक बन्न उल्टो प्रतिस्पर्धा गरिराखेका छन् । यमन, सिरिया र अफगानिस्तानले पनि बढी भ्रष्ट मुलुकका रूपमा आफ्नो पहिचान बनाउँदै दक्षिण सुडान र सोमालियसँगै प्रतिस्पर्धा गरिराखेका छन् । भ्रष्टाचार व्याप्त हुनुका पछाडि के कस्ता कारण रहेका छन् ? सोमालिया किन सबैभन्दा भ्रष्ट हुन पुगेको छ ? यसका कारणहरू पहिचान गर्ने प्रयास गरिएको छ ।

सोमालिया बढी भ्रष्ट हुनुका पछाडि त्यहाँको निर्वाचन अत्यन्त खर्चिलो हुनु हो । त्यहाँ सम्पन्न राष्ट्रपतिको निर्वाचनमा भएको भ्रष्टाचारलाई उल्लेख गर्नु सान्दर्भिक हुन्छ । त्यहाँका दुई सदनात्मक संसदीय प्रणाली अवलम्बन गरिआएको त्यस मुलुकमा अप्रत्यक्ष निर्वाचन हुने गरेको छ । यी दुवै हाउसका संसद्हरू राष्ट्रपति निर्वाचनमा मतदाता हुने व्यवस्था छ । यस निर्वाचनमा सांसदहरूको सिधै खरिद हुने गर्छ । यहाँ कुनै पनि सिद्धान्त, आदर्श र एजेन्डाका आधारमा मतदान गर्ने र मत माग्ने गरिँदैन । सांसदहरूसँग गरिने सौदाबाजीका आधारमा मत किन्ने गरिन्छ । हालसम्म त्यहाँ भएको निर्वाचनमा अमेरिकी डलर ५ हजारदेखि ३० हजारसम्ममा किनबेच भएको पाइएको छ ।

सन् १९९१ देखि हालसम्म त्यस मुलुकमा सरकारले राम्ररी काम गर्न पाएको छैन, सकेको छैन । अल्पअवधिमा अत्यधिक स्रोतसाधन संग्रह गर्न राष्ट्रपतिलगायतका सरकारमा रहनेहरू लिप्त बनेका छन् । राजनीतिक अस्थिरता व्याप्त छ । खुलेयाम भ्रष्टाचारमा संलग्न भएको स्थिति छ । यहाँको निर्वाचन पर्यवेक्षण गर्न गएको संयुक्त राष्ट्रसंघको मिसनले दिएको प्रतिवेदन अध्यन गर्दा केही तथ्यका ’boutमा जानकारी भएको छ । त्यहाँको निर्वाचन नाम मात्रको हुने रहेछ । निर्वाचनमा हदैसम्मको धाँधली हुने गरेको छ । अत्यधिक हिम्साबाट निर्वाचन प्रभावित हुने गरेको छ । भ्रष्टाचारलाई सामान्य रूपमा लिने गरिएको छ । आतंक र सन्त्रासका बीच तथाकथित मतदान सम्पन्न हुन्छ । मतदातालाई धम्की दिई आफ्नो पक्षमा मतदान गर्न बाध्य पारिन्छ ।

नेपालमा सोमालियाजस्तै सिद्धान्त, आदर्श र एजेन्डाका आधारमा मत माग्ने र मत दिने काम हुनसकेको छैन

असम्बन्धित व्यक्तिले अन्य कुनै आधिकारिक व्यक्तिको नाममा सहजै मतदान गर्छन् । मुलुकको संविधानमै ३३ प्रतिशत सांसद् महिला निर्वाचित हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको छैन ।

यस अर्थमा संविधानमा भएको प्रावधानसमेत निर्वाचनमा सहजै उल्लंघन गरिएको पाइएको छ । यसप्रकार लोकतान्त्रिक पद्धतिकै धज्जी उडाउने काम यस मुलुकमा भइराखेको छ । निर्वाचित प्रतिनिधिप्रति जनताको कुनै आस्था र विश्वास छैन । जनताको समर्थन र मान्यतासमेत यस अवस्थामा त्यस मुलुकको सरकारलाई मिलिराखेको छैन । तानाशाहीतन्त्र र साम्यवादी एकतन्त्री शासन प्रणालीभन्दा पनि बिग्रिएको खराब अवस्था यस मुलुकमा देखिएको छ । यस परिस्थितिमा हुने भनेकै भ्रष्टाचार मात्र हो ।

वाक स्वतन्त्रको अवस्था सोमालियामा अत्यन्त दयनीय छ । प्रेस स्वतन्त्रतालाई कुण्ठित गरिएको छ । गैरसरकारी संस्थाहरू र प्रेसलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण छैन, उनीहरूलाई कुनै पनि प्रकारको सुरक्षाको प्रत्याभूति राष्ट्रले गरेको छैन । यस अवस्थामा पारदर्शिताको अवस्था दयनीय बन्छ । पारदर्शिताको अभावमा लोकतन्त्रको संस्थागत विकास र सुशासनको कल्पना गर्न सकिँदैन । सञ्चारकर्मीहरूको सुरक्षा प्रदान गर्ने कमिटी ‘सीपीजे’का अनुसार प्रतिवर्ष यस मुलुकमा ठूलो संख्यामा सञ्चारकर्मीको हत्या हुने गर्छ । सन् १९९२ देखि हालसम्म करिब १ सय ५० सञ्चारकर्मीको हत्या गरिएको छ । सन् २०१७ देखि २०२२ सम्म दस जना सञ्चारकर्मीलाई उनीहरूले गरेको रेपोर्टिङलाई लिएर कारागार चलान गरिएको छ ।

गलत समाचार प्रकाशन गरेको आरोपमा मुद्दा चलाई बन्दी बनाइएका सञ्चारकर्मीको रिहाइका लागि सीपीजेले गरेको अनुरोधलाई त्यहाँको सरकारले स्वीकार गरेको छैन । सरकारका काम कारबाहीहरू सम्बन्धमा आलोचनात्मक लेख र समाचारहरू प्रकाशन गर्ने सञ्चारकर्मीहरू सहजै सरकारको वक्र दृष्टि र कोपभाजनमा परिराखेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट भएका अनुरोध र विरोधलाई सरकारले ग्रहण गर्ने अवस्था नै छैन । सरकारले हालैका दिनमा प्रमाण संलग्न नगरी कुनै समाचार प्रसारण गर्न नपाइने र गरेमा अत्यन्त कडा कारबाही गर्ने ऐन पारित गरेको छ । मानवअधिकारवादीले यस प्रकारको व्यवस्थाबाट अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुने भएकाले सो ऐनसहितको व्यवस्थामा सुधार गर्न अनुरोध गरेको छ । तर, सरकार स्वीकार गर्ने पक्षमा देखिएको छैन । एम्नेस्टी इन्टरनेसनल र मानवअधिकारवादी संस्थाले विश्वभर यस प्रकारको ज्यादतीको भत्र्सना गरिराखेको छ । तर, त्यहाँको सरकार अत्यन्त स्वेच्छाचारी बनिराखेको छ । यस अवस्थाले निरन्तरता पाइरहँदा सोमालियामा पत्रकारिताको अवस्था शून्य हुने स्थिति बन्दै छ ।

यस मुलुकलाई प्रकृतिले पनि ठगेको छ । वर्षा अत्यन्त कम हुन्छ । लगातार वर्षा कमी भएकाले पानीको मात्रा अत्यन्त कम छ । खाद्यान्न उत्पादनमा यही कारणले कमी आएको छ । पानीको अभावमा धेरै मानिसले मृत्युवरण बाध्य भएका छन् । पशु पंक्षीहरूको अवस्था दयनीय छ । महँगी बढ्ने गरेको छ । यस प्रकारको अवस्थाले अनिकालले विगत ६ वर्षको अवधिमा पौष्टिक आहारको अभावमा यस पूर्वी अफ्रिकी मुलुकमा २ लाख ६० हजार मनिस मृत्युको चपेटामा परेका थिए । यो अवस्था सिर्जना भएकाले मुलुक विदेशी सहयोगमा निर्भर रहँदै आएको छ । सहयोग राशिको दुरुपयोगले सीमा नाघेको छ । केही वर्षपहिला ऋण र सहायता रकम पनि नगदमा लिने त्यसको हिसाब अध्यावधिक नगरी भ्रष्टाचार गर्ने गरिएको थियो । दाता राष्ट्र तथा संस्थाले औपचारिक हिसाब राख्ने र सोमालियाका शासकहरूले यस रकमलाई पारदर्शी नगराउने, सञ्चारकर्मीलाई आवाज उठाउँदा कारागार पठाउने, हत्या गर्ने समेत गरिएकाले यस मुलुकमा भ्रष्टाचार अत्यन्त व्याप्त भएको हो । यस अवस्थामा नगण्य सुधार हालका दिनमा हुँदा पनि भ्रष्टाचार कम गर्न सकिएको छैन । गलत र भ्रष्ट शासक भएकाले यो अवस्था सिर्जना भएको हो । यस प्रकारका शासकहरूबाट मुलुकलाई मुक्ति दिलाउनुपर्ने अवस्था छ ।

मुलुकमा सोमालियाकै जस्तो भ्रष्टाचारकै कारण अर्को विद्रोहको अवस्था आउनसक्छ

सोमालिया सन् १९९२ देखि नै ठूलो रक्तपातपूर्ण अवस्थाबाट गुज्रिएको छ । द्वन्द्वात्मक अवस्था छ । राजधानी सहर मोगादिसुमै विस्फोटक पदार्थले भरिएको ट्रक विस्फोट गराइएको थियो । यसबाट ५ सय नागरिकले मृत्युवरण गरेका थिए । राजनीतिक अस्थिरता व्याप्त भएकाले सरकारले सम्पूर्ण भूभागलाई आफ्नो नियन्त्रणमा लिन सकेको छैन । कानुनी राज्यको अवधारणा सोमालियामा सिद्धान्तमा मात्र सीमित छ । यो अवस्था सिर्जना भएको दसकौं बितिसकेको छ । सरकार समस्याको समाधान गर्न पूर्ण रूपमा असफल छ । राजनीतिक अस्थिरताको कारक भ्रष्टाचार हो भने भ्रष्टाचार मौलाउने अवसर राजनीतिक अस्थिरतामै प्राप्त हुने गर्छ । यो अवस्था चरम रूपमा देखिएको छ । यस अवस्थामा वैधानिक सरकार पनि अस्तित्वविहीन बन्छ ।

यहाँको सरकारले शासन गर्न सकेको छैन । अधिकांश समय आतंकवादीसँग मुठभेड गर्न र भ्रष्टाचार गर्नमै खर्चिएको छ । केही वर्षपहिले यहाँका राष्ट्रपति फार्माजोले ६० दिनभित्र आत्मसमर्पण गरेमा आममाफी दिने घोसणासमेत गरेका थिए । उनीहरूलाई ससम्मान समाजमा एकीकृत गरी सौहार्दपूर्ण र मेलमिलापको वातावरण तयार पार्ने सोच उनको थियो । नगरेमा अथवा अस्वीकार गरेमा युद्धको घोसणा भएको थियो । विद्रोही समूहले यस सदासयतालाई सरकारको कमजोरीका रूपमा लिँदै अस्वीकार गरेका थिए र युद्धका लागि तयार बनेका थिए । सोमालियामा शान्ति कायम हुँदा पनि शीघ्र भ्रष्टाचारको अवस्थामा सुधार हुने देखिँदैन । यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग अनिवार्य देखिएको छ । यस अवस्थामा सोमालियामा भ्रष्टाचार नियन्त्रण गर्न गम्भीरतापूर्वक लागिपर्नुपर्ने अवस्था छ । दण्डात्मक, निरोधात्मक, नियन्त्रणात्मक, प्रवद्र्धधनात्मक सबै उपायको अवलम्बन गरिनुपर्छ ।

नेपालमा धेरै सन्दर्भहरू सोमालियासँग मिल्ने देखिँदै छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपालका राजनीतिज्ञहरूको प्रतिबद्धता शून्य छ । राजनीतिक अस्थिरता व्याप्त छ । सबै प्रकारका भ्रष्टाचारका ठूलाठूला घोटालाहरूमा कारबाही गरिँदैन । राजनीतिक र नीतिगत भ्रष्टाचार गर्नेहरूलाई अभयदान प्रदान गरिएको छ । सञ्चार जगत्ले विकास गर्ने अवसर नेपालमा राम्ररी पाएकाले सोमालियाको जस्तो भ्रष्टाचारका मामिलाहरू सतहमै नआउने अवस्था भने छैन । तर, जनताले भ्रष्ट देखेका जतिले सहजै उन्मुक्ति पाइराखेका छन् । नेपालमा पनि सोमालियाकै जस्तो भ्रष्टाचारकै कारण अर्को विद्रोहको अवस्था आउनसक्छ । अनुशासन कायम गर्दै प्रतिबद्धताका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने राजनेता नेपालमा देखिएका छैनन् । जुन दिन यसप्रकारको राजनेता मुलुकले प्राप्त गर्छ, त्यही दिनबाट नेपालको अवस्थामा समेत सुधार आउन सक्छ । हालको अवस्थालाई अध्ययन गर्दा विस्तारै सोमालियाकै मार्ग नेपालले पनि अवलम्बन गरिराखेको छ । यसतर्फ जिम्मेवार निकाय तथा पदाधिकारीको ध्यान शीघ्र जानु आवश्यक छ । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतन्त्र र सुशासन हदैसम्मको उपहास ! – श्यामप्रसाद मैनाली

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले

राष्ट्रिय सभालाई नजरअन्दाज : खिमलाल देवकोटा

प्रदेशको हातखुट्टा बाँधेर संघीयता बलियो हुँदैन : पृथ्वीसुब्बा गुरुङ