कांग्रेस पदाधिकारी बैठक बस्दैः कार्यतालिका परिवर्तनको तयारी

कांग्रेस पदाधिकारी बैठक बस्दैः कार्यतालिका परिवर्तनको तयारी

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले १४ औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यसूची परिवर्तन गर्ने तयारी गरेको छ ।

आइतबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका परिवर्तनको तयारी गरेको हो । महाधिवेशन कार्यतालिका परिवर्तन गर्ने, सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेकाले कसरी दबाब दिने भन्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने–‘महाधिवेशनको तयारी कसरी गर्ने । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेकाले प्रतिपक्षी दलको हैसियतले कसरी दबाब दिने भन्ने विषयमा छलफल हुन्छ ।’

त्यस्तै प्रवक्ता शर्माले १४ औँ महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल हुने जानकारी दिए । महाधिवेशनको पूर्वतयारी गर्नुपर्ने भएपनि अहिलेसम्म केही गर्न नसकिएकाले पूर्व निर्धारित कार्यतालिका फेरबदल गर्नुपरेको उनको भनाइ छ । उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै भने–‘पूर्वनिर्धारित कार्यसूची अनुसार असारसम्म क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने हो । दशैसम्म जिल्ला अधिवेशन गर्नुपर्र्छ तर कोरोना भाइरसको कारणले केही पनि कार्यसूची अनुसार हुन सकेको छैन् । त्यसैले कार्यसूची परिर्वतन गर्नुको विकल्प छैन ।’

गत पुस ११ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ औँ महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने उल्लेख गरिएको थियो ।

तर कोरोना भाइरसको प्रभावका कारण फागुन यता पार्टीका कुनैपनि काम हुन सकेका छैनन् । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो नियमित चार वर्षे कार्यकाल पूरा गरि गत वर्ष पार्टीको विधान अनुसार एक वर्ष कार्यकाल थप गरेका थिए । थप कार्यकाल पनि यहि वर्षको फागुन महिनामा पूरा हुँदैछ ।

Leave a Reply