लाखौँ सिरियाली भोकमरी संकटमा पर्न लागेको अन्तराष्ट्रिय संस्थाहरुको भनाई

लाखौँ सिरियाली भोकमरी संकटमा पर्न लागेको अन्तराष्ट्रिय संस्थाहरुको भनाई

काठमाण्डौं: लाखौ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तराष्ट्रिय संस्थाहरुले जनाएका छन् । गएको करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् ।

नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयर लगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शरणार्थीहरु भोकमरीको समस्यामा पर्न लागेका जनाएका छन् । उनीहरुले यस्तो संकट निकै नजिकै आइरहेको भन्दै यसका लागि आवश्यक सहयोग गर्न दाता राष्ट्रहरुका साथै अरु पनि आवश्यक संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।

पश्चिमा शक्ति राष्ट्रहरुले द्धन्द्धग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई यसअघि नै आग्रह गरेका थिए । सिरियन सरकार अन्तराष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाई मार्गबाट भएपनि त्यहाँका केही स्थानमा सहायता सामग्री पुर्‍याउन विगतदेखि नै राष्ट्रसंघलाई आग्रह गरेका हुन् ।

केही महिना मात्र अघि पनि सिरियामा कार्यरत इन्टरनेशनल सिरिया सहयोग समूहले समस्याग्रस्त क्षेत्रहरुमा खाद्यान्नलगायतका सहायता सामग्री नपुर्‍याउन गम्भीर मानवीय संकट आउन सक्ने बताएको थियो । सिरियाका विद्रोही समूहको नियन्त्रणमा रहेका त्यहाँका दरायालगायतका क्षेत्रमा विगतदेखि नै निकै थोरै मात्रामा सहायता सामग्री वितरण गरिएको र त्यसमा खाद्यान्न समेत नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए ।

ती स्थानहरुमा सरकारले हवाई मार्गबाट सामान पठाउने बारेमा पनि पटक पटक राष्ट्रसंघको सुरक्षा परिषदमा विगतदेखि नै छलफलहरु हुने गरेको थियो । अहिले पछिल्लो समयमा आएर पनि खाद्यान्नको अभावका कारण सिरियाका कैयौँ क्षेत्रहरुमा भोकमरीको फैलिएको छ । अबका केही सममयै भोकमरीको अवस्था कम्तीमा पनि ९३ लाख सिरियाली नागरिकसम्म पुग्नसक्ने बताइएको हो ।

द्धन्द्धग्रस्त सिरियाका ५० लाखभन्दा बढी मानिसले कष्टकर जिवन विताइरहेको राष्ट्रसंघले जनाएको छ । तीमध्ये विभिन्न समुहद्धारा नियन्त्रित क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीको अवस्था झन् नाजुक बन्दै गएको पनि पाइएको छ ।

हाल सिरियामा कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण पनि खाद्य सामग्रीहरु अभाव भएको हो । कैयौँ सिरियालीहरुलाई तत्कालै दाता समूह, संयुक्त राष्ट्रसंघ आदिले खाद्यान्न प्रदान गर्ने काममा राम्रोसँग नहेर्ने हो भने यसले यहाँका लाखौँलाख नागरिकलाई समस्यामा पार्ने निश्चित देखिएको ती दाताहरुले जनाएका छन् । रासस

Leave a Reply