नेप्सेमा सर्किट ब्रेक, सबै कारोबार स्थगित
सांकेतिक तश्विर

नेप्सेमा सर्किट ब्रेक, सबै कारोबार स्थगित

काठमाण्डौं: कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता समेत बजार २ दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरियो । यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गर्‍यो । स्टकका अनुसार सोमबार बजार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो ।

बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगायो र आजका लागि कारोबार स्थगन भएको जनाएको छ । स्टकका अनुसार कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । प्रतिशतका आधारमा ६.०६ ले नेप्से बढोत्तरी भएको छ । नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६०.७५ मा पुगेको छ । कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत १५.६३ विन्दु अर्थात ६.१० प्रतिशतले बढेको छ ।

कूल १३४ कम्पनीको ४ लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । स्टकले नेप्से ५ प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको जनाएको छ । कारोवार शुरु भएको करिब १ घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार ४ प्रतिशतले बढेको थियो । दोस्रो पटक बजारमा ५ प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार आजका लागि बन्द भयो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूह मध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ । होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ७३.७२, व्यापार ६५.७३, विकास बैंक ६५.६६, जलविद्युत् ३९.७७, वित्त ४.९७, निर्जीवन बीमा २९६.१५, उत्पादन १२२.१७, अन्य २३.९७, लघुवित्त ७७.७ र जीवन बीमा ६३४.९८ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३ करोड ६४ लाख ३८ हजार ६० बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ३ करोड ५२ लाख २३ हजार ७९०, साना किसान विकास बैंक रु १ करोड ६७ लाख ७१ हजार ६९८, शिवम सिमेन्ट रु १ करोड २६ लाख ३० हजार ८०७, नेपाल पुर्नबीमा कम्पनी रु ७० लाख १६ हजार ५९०, एनएमबी बैंक रु ६३ लाख ४३ हजार ६९७ र नबिल बैंक रु ६२ लाख २  हजार ५८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । साल्ट ट्रेडिङ कर्पोरेशन ९.९८, विजय लघुवित्त वित्तीय संस्था ९.९८, हिमालयन डिस्टिलरी ९.९६ र साना किसान विकास बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनी ९.९४, ओरियन्टल होटल ९.७३, सानिमा इक्विटी फण्ड ३.८९, वेस्ट फाइनान्स कम्पनी २.२७, एनआइबिएल समृद्धि फण्ड एक १.९९ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयधरनीले १.९७ प्रतिशतले कमाएका छन् । बजारमा देखिएको उच्च वृद्धिले कोरोना पछि थला परेको अर्थतन्त्रलाई क्रमशः माथि लैजान बल पुग्ने टिप्पणी बजारमा गरिएको छ । रासस

Leave a Reply