सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ ।

२५ करोड ६९ लाख जरिमाना

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो । विशेष अदालतले उनको स्वास्थ्यस्थिति, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको हो ।

विशेष अदालतले उनलाई १२ करोड ८४ लाख बिगो र त्यसको दोब्बर अर्थात् २५ करोड ६९ लाख जरिमाना हुने फैसला गरेको छ । न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप थियो ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा १८ असार २०५६ देखि ७ मंसिर २०५७ सम्म पहिलो कार्यकाल र २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कलेजको चल–अचल सम्पत्ति ठगी गरेको र त्यसबाट प्राप्त रकमलाई शुद्धीकरण गरेको भन्दै तत्कालीन अध्यक्ष न्यौपानेलगायत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । न्यौपानेले १२ करोड ४४ लाख १२ हजार ७ सय ५५ रुपैयाँ शुद्धीकरण गरेको भन्दै विभागले सो रकम न्यौपानेको सम्पत्तिबाट जफत गर्न, त्यसको दोब्बर रकम जरिमाना गर्न र उनलाई कैद सजाय गर्नसमेत माग गरेको थियो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनले कसुर गर्ने व्यक्तिलाई २ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम कसुरको मात्रानुसार न्यौपानेलाई कैद सजाय गर्न पनि विभागले माग गरेको थियो । अन्य ८ जनाले भने सम्पत्ति शुद्धीकरणमा सफाइ पाएका छन् । तत्कालीन सञ्चालक रामरत्न उपाध्यायले १ करोड २५ लाख ३८ हजार ६२ रुपैयाँ शुद्धीकरण गरेको भन्दै जफत गर्न र त्यसको दोब्बर रकम जरिमाना तथा कैद सजाय गर्न पनि माग गरिएको थियो । त्यस्तै, विभागले अर्का सञ्चालक उपेन्द्र गौतमले २ करोड २९ लाख ६७ हजार २ सय ११ रुपैयाँ शुद्धीकरण गरेकाले जफत गर्न, दोब्बर रकम जरिमाना र कैद गर्न माग गरेको थियो । यसैगरी, लवराज भट्टराईले २ करोड ७९ लाख ५५ हजार ६ सय रुपैयाँ र हरिप्रसाद पाण्डेले २ करोड ४३ लाख ४९ हजार २ सय ७ रुपैयाँ शुद्धीकरण गरेको भन्दै उनीहरू दुवैको सम्पत्तिबाट सो रकम जफत गर्न, दोब्बर जरिमाना गर्न र कैद सजाय गर्न माग गरेको थियो ।

यी अपराध लुकाउन ७८ लाख घुस
२०५१ सालमा स्थापित नेपाल इन्जिनियरिङ कलेजमा लामो समयदेखि आर्थिक अनियमितता हुँदै आएको थियो । कलेज सञ्चालक समितिको मिलेमतोमा कर छली गर्ने र ठूलो रकम अपचलन भएपछि उजुरीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका थिए ।

संस्थापकहरू लम्बोदरकुमार न्यौपाने, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, सूर्यबहादुर केसी र तत्कालीन प्रिन्सिपल शोभाकान्त देव तथा भाइस प्रिन्सिपल तीर्थ निरौलालगायतले सामाजिक संस्थाका रूपमा दर्ता भएको कलेज निजीकरण गरेर बेच्न लागेको थाहा पाएपछि उजुरीकर्ताले अख्तियारमा उजुरी दिएका थिए । सो विषय लामो समयसम्म आयोगमा थाँती रह्यो । उजुरी परेसँगै संस्थापकमध्येका लम्बोदरकुमार न्यौपानेलाई टाउको दुखाइ बनेको थियो ।

योजना मुताबिक नै न्यौपानेलगायत टोलीले संस्था हत्याउन २५ वैशाख २०७४ मा कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा ‘नेपाल इन्जिनियरिङ कलेज प्रालि’ नामक संस्था दर्ता गरेका थिए ।

प्रालिमा दर्तासँगै न्यौपानेले २ अर्ब रुपैयाँमा कम्पनी बेच्न खोजेका थिए । गैरनाफामूलक सामाजिक संस्थालाई कम्पनीमा दर्ता गर्ने र ४० रोपनी जग्गामा फैलिएको कलेजलाई प्रालिमा लगेर नाफा हत्याउने र बेच्ने उद्देश्य राखेपछि सोविरुद्ध आयोगमा उजुरी दर्ता भएको थियो ।

त्यस्तै, सामाजिक संस्थाका नाममा खुलेको कलेजमा ३१ करोड ८६ लाख ४९ हजार १ सय ६८ रुपैयाँ नखुलेको स्रोतबाट आएको जी पौडेल एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सको रिपोर्टले देखाएको थियो । त्यसमध्ये २१ करोड ४९ लाख २९ हजार ४४ रुपैयाँ अदृश्य तरिकाले नै बाहिरिएको छ ।

उजुरी पर्नेबित्तिकै आयोगले कागजात नियन्त्रण गर्दा झन्डै ५२ करोडभन्दा बढी ‘कालोधन’ विषयमा प्रश्न उठ्ने भएपछि लम्बोदर न्यौपाने आयोगका आयुक्त पाठकले भने जति रकम दिन राजी भएका थिए ।

व्यक्तिगत बेरुजु नै करोडौं
लम्बोदर न्यौपानेको चारवर्षे कार्यकालमा व्यक्तिगत बेरुजु मात्रै २३ करोडभन्दा बढी छ । जी पौडेल एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सको १३ भदौ २०७५ को अडिट रिपोर्टनुसार २३ करोड १० लाख रुपैयाँ बेरुजु देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी न्यौपानेको नाममा १३ करोड ३२ लाख ३६ हजार ३ सय ९५ रुपैयाँ बेरुजु छ ।

त्यस्तै, अख्तियारमा परेको उजुरीमा उल्लेख भएका रामरत्न उपाध्यायका नाममा ७९ लाख, लवराज भट्टराईका नाममा २ करोड ४३ लाख, उपेन्द्र गौतमका नाममा १ करोड ७८ लाख र सूर्यबहादुर केसीका नाममा २ करोड ७८ लाख बेरुजु छ । तत्कालीन प्रिन्सिपल शोभाकान्त देव र भाइस–प्रिन्सिपल तीर्थ निरौलाका नाममा पनि बेरुजु देखिन्छ । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य

सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४१ करोड भ्रष्टाचार: विशेषमा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अर्को मुद्दा

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

सत्तरी जना सगरमाथा शिखरमा

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने