सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दशकौँसम्म सङ्घर्ष गरेर उदाएका प्रमुख राजनीतिक दलको विरासतको लडाइँ, पहिचान पक्षधरको बलियो जनमतको उदय र नयाँ दलको परीक्षण गर्दै इलाम र बझाङको उपनिर्वाचन सम्पन्न भएको छ ।

संविधान सभा अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष सुवासचन्द्र नेम्वाङको विरासतलाई जनअनुमोदन, कम्युनिस्ट पार्टीबिच सहकार्य गर्नुपर्ने सन्देश, नेपाली कांग्रेसलाई अझै प्रभावकारी साङ्गठनिक संरचना निर्माण र पहिचान पक्षधरको आवाजको सम्बोधनको सन्देश वैशाख १५ गते सम्पन्न निर्वाचनले दिएको छ ।

राजनीतिक दलका नेता एवं राजनीतिक विश्लेषकले इलाम र बझाङमा दलहरूको हैसियत देखिएको बताउनुभएको छ । विश्लेषक अरुणकुमार सुवेदीले राजनीतिक रूपमा प्रमुख दलमै आएको रूपान्तरणको अभ्यासले पनि चुनावी परिणाममा प्रभाव पारेको बताउनुभयो ।

दलहरूको जनमत परीक्षण 

इलाम–२ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले उम्मेदवारी दिएन एमालेलाई सघायो । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ उम्मेदवारबिच प्रतिस्पर्धा भयो ।

इलाम–२ मा संविधान सभा अध्यक्ष नेम्वाङका छोरा सुहाङ नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी हुनुभयो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । स्वतन्त्र डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बूको जमानत जफत भयो । उहाँले पाँच हजार ५० मत प्राप्त गर्नुभयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्लामा उहाँको पार्टी एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले ४०८ मत प्राप्त गर्नुभयो ।

२०७९ को आवधिक निर्वाचनमा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो । उपनिर्वाचनमा विजयी उम्मेदवारको मत घटेको छ ।

पहिचान पक्षधरले स्वतन्त्र उम्मेदवारलाई मत दिँदा २०७९ मा कांग्रेसले पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मत एमालेले प्राप्त गरेको छ । बझाङ क्षेत्र नं. १ (१) मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा एमाले नेता दमनबहादुर भण्डारी ११ हजार ६१३ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६, माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८३१ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार ५१४ मत प्राप्त गर्नुभयो । उहाँहरूसहित ११ उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इलाम र बझाङमा दलहरूको शक्ति परीक्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इलाममा एमाले–माओवादीको तालमेल हुँदा बझाङमा सबै दलले आफ्नो हैसियत थाहा पाएका छन् । कांग्रेसलाई प्रस्ट सन्देश प्राप्त भएको छ कि अब कांग्रेस साङ्गठनिक रूपमा सशक्त अभियान चलाउनु पर्छ । जनतालाई सुन्ने कांग्रेस र जनताले बुझ्ने कांग्रेस बनाउनै पर्छ ।”

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले इलाममा कम्युनिस्ट पार्टीको सहकार्यलाई जनअनुमोदन प्राप्त भएको बताउनुभयो । एमाले नेता गुरुङले सबै दलको साङ्गठनिक अवस्थालाई उपनिर्वाचनले स्पष्ट गरेको बताउनुभयो ।

माओवादी केन्द्रका महासचिव गुरुङले देशमा एउटै कम्युनिस्ट पार्टी बन्नुपर्ने मतलाई उपनिर्वाचनले बल पु¥याएको बताउनुभयो । उहाँले नेपालमा विविधतापूर्ण ढङ्गले अघि बढेका कम्युनिस्ट पार्टीबिच सहकार्यको बलियो आधार पनि यसबाट निर्माण गर्न सकिने बताउनुभयो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले उपनिर्वाचन साङ्गठनिक अवस्थाको जाँच भएको बताउनुभयो । नेता परियारले रास्वपाले पूर्वी पहाडमा आफ्नो साङ्गठनिक अवस्था बुझ्ने अवस्था पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बझाङमा उम्मेदवारी दिएनौँ । इलाममा नागरिक आफैँ स्वतःस्फुर्त सङ्गठित भएर रास्वपालाई उल्लेख्य मत दिनुभएको छ । अब सङ्गठन निर्माणमा लाग्छौँ ।”

उपमहासचिव खतिवडाले ठुला दलको आर्थिक र साङ्गठनिक चेपुवामा साना दल परे पनि अब यो भाष्य अन्त्य हुने बताउनुभयो । उहाँले विचार र सङ्गठनभन्दा भावनामा मत प्राप्त हुने परिपाटी देखिएको बताउनुभयो ।

कम्युनिस्ट शक्तिबिच सहकार्य 

सत्ता साझेदार एमाले र माओवादीका नेताले इलाम र बझाङको उपनिर्वाचनको परिणामले कम्युनिस्ट पार्टीबिच सहकार्यको सन्देश दिएको बताउनुभयो । एमाले उपमहासचिव गुरुङ र माओवादी केन्द्रका महासचिव गुरुङले उपनिर्वाचनले वामपन्थीबिच सहकार्यको सन्देश दिएको बताउनुभयो ।

एमाले नेता गुरुङले माओवादी नेतृत्वको दूरदर्शी र सकारात्मक निर्णयका कारण पनि इलाममा एमालेलाई जित्न सहज भएको बताउनुभयो । उहाँले एमाले–माओवादीको सहकार्यलाई दूरगामी बनाउन जनमतमार्फत दबाब सिर्जना भएको बताउनुभयो ।

स्टन्ट र प्रचारबाजीलाई धक्का

कांग्रेस महामन्त्री शर्मा, एमाले उपमहासचिव गुरुङ र एकीकृत समाजवादीका नेता खतिवडाले सहरकेन्द्रित स्टन्ट र प्रचारबाजीलाई इलामले धक्का दिएको बताउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, “पहिचानको पक्षमा मत देखिँदै गर्दा कांग्रेसलाई व्यवस्थित गर्नु पर्छ भन्ने देखियो साथै नयाँ दल भनेर मात्रै हुँदैन, थिति र विधिमा विश्वास गर्नु पर्छ भन्ने सन्देश जनमतमार्फत प्राप्त भएको छ ।”

एमाले नेता गुरुङले राजनीतिक स्थिरताका पक्षमा, समृद्धि र समुन्नतिको पक्षमा नागरिकको मत व्यक्त भएको बताउँदै प्रचारबाजी प्रवृत्तिविरुद्ध जनमत आएको दाबी गर्नुभयो ।

नेता खतिवडाले सहरबजारतिरको फन्डा र स्टन्टले उपनिर्वाचनमा काम नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर एउटा सन्देश प्रस्ट छ– रूपमा र सारमा दलहरूबिच भएको सहकार्यलाई सैद्धान्तिक, साङ्गठनिक र वैचारिक रूपमा प्रतिबद्धता जनताले खोजेका छन् ।” गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

१० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर

पशुपतिको भेटी चोरी

समावेशी आयोगको हविगत !

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए