सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपनिर्वाचन मतपरिणाम: केपी ओली दंग, प्रचण्ड सन्तुष्ट

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नयाँ सत्ता समीकरण बनेपछि भएको उपनिर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओली दंग देखिएका छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सन्तुष्टि व्यक्त गरेका छन् । इलाम २ र बझाङ १ (१) को जितेपछि एमालेका लागि ‘मिसन ०८४ को मुद्दा बनाउन’ सहज भएको भन्दै ओली दंग देखिएका छन् ।

एमालेले ०८४ को निर्वाचनमा राष्ट्रिय शक्ति निर्माणका लागि पहिलो हुने दाबीसाथ अहिलेदेखि नै मिसन सुरु गरेको छ । दाहाल भने इलाम २ को परिणामले आफू र ओलीबीच थप विश्वासको वातावरण बन्ने टिप्पणी गरेका छन् । इलाम २ मा पूर्वउपाध्यक्ष सुवासचन्द्र नेम्वाङको विरासत जोगाउन र बझाङ १ (१) मा एक सिट थप्न सफल भएको छ । एमालेले संघमा एक सिट जोगाउन र सुदूरपश्चिममा प्रदेशमा एक सिट थप्नु राजनीतिक उपलब्धिका रुपमा लिएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेससँगै एउटै सरकारमा भएका दलहरुले यो उपनिर्वाचनमा प्रतिस्पर्धा गरे । यो परिणामले एमाले विजेता बनेकोमा उसको आत्मबलमात्र बढेको छैन, माओवादीसँग सहकार्यका लागि पनि झन् सहज वातावरण बनाएको छ ।

प्रधानमन्त्री दाहालले इलाम २ मा आफ्नो दलले समर्थन गरेका एमालेका सुहाङ नेम्वाङ विजेता बनेकोमा सन्तुष्टि व्यक्त गरेका छन् । सुहाङको पक्षमा मत परिणाम आउँदै गरेको बेला उनले सोमबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा सन्तुष्टि व्यक्त गरेका छन् ।

बझाङ १ (१) मा आफ्नो उम्मेदवार पराजित भए पनि एमालेले जितेको माओवादी नेताहरु सुदूरपश्चिम सरकार बनाउन सहज हुने भन्दै सन्तुष्ट छन् । दुवै निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी भएकोमा दाहाल र ओलीले सन्तुष्टि व्यक्त गरेका छन् । ओली आफ्नो दलको जनादेश बढेकोमा खुशी छन् भने दाहाल समीकरण बलियो हुने भएकाले सन्तुष्ट भएको निकट नेताहरुको भनाइ छ ।

ओलीले मंगलबार इलामको विजयसभामा बोल्दै निर्वाचन परिणामले राष्ट्रिय शक्ति निर्माणका लागि आधार तयार भएको बताए । उनले यो उपनिर्वाचनलाई शान्तिपूर्ण ‘महासंग्राम’को संज्ञा दिँदै विजय हासिल गरेको भन्दै सन्तुष्टि व्यक्त गरे । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङलाई बधाई दिँने क्रममा उनले माओवादीले यथार्थता बुझेर समर्थन गरेको भन्दै आभार व्यक्त गरे । उनले यो निर्वाचन परिणामले राष्ट्रिय शक्ति निर्माणका लागि आवश्यक आधार तयार भएको बताए ।

‘मुलुकमा बलियो राष्ट्रिय शक्ति चाहिएको छ । एमाले राष्ट्रिय स्वाभिमानका साथ उभिने शक्ति बन्नुपर्छ,’ उनले भने, ‘वामपन्थी, देशभक्त शक्तिको एकताबद्ध प्रयास चाहिएको छ । म राष्ट्रिय शक्ति निर्माणका लागि आहृवान गर्न चाहन्छु । माओवादीले मद्दत गर्नुभयो, यथार्थतालाई बुझ्नु भयो ।’

ओलीले निर्वाचन परिणामले आगामी दिनमा सहकार्यको आधार तयार गरेको बताए । ‘परिस्थितिअनुसार आगामी दिनमा सहकार्य हुने छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले ओलीसँगको सोमबार भेटमा वामपन्थीबीच सहकार्य भएकाले परिणाम निकाल्न सहज भएको बताएका थिए । दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएपछि सत्तासमीकरण बलियो बनाउन सहयोग हुने दाहालको बुझाइ छ । ‘खासगरी इलामको निर्वाचन परिणामपछि प्रधानमनत्रीज्यूले सन्तुष्टि व्यक्त गनुभएको छ,’ दाहाल निकट एक नेताले भने ।

एमाले उपमहासचिव विष्णु रिमालले इलाम २ को निर्वाचन परिणामले एमाले माओवादीबीच थप विश्वासको वतावरण बनाउने बताए । ‘पक्कै पनि यो उपनिर्वाचनका परिणामले विश्वास बढाउने र दुरी घटाउने काम गर्छ,’ उनले भने, ‘आगामी दिनमा सहकार्यका लागि सकारात्मक वातावरण बनाउने छ ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्काए पनि ओली र दाहालबीच अझै पनि लामो सहकार्यबारे पूर्ण विश्वस्त नभइरहेको अवस्थामा इलाम २ मा एमालेको विजयसँग सहकार्य बलियो बनाउने सन्देश दिएको माओवादी सचिव राम कार्कीको भनाइ छ । ‘एमालेको मुख्य आधार इलामबाट एमाले हारेको भए गलत सन्देश जान्थ्यो,’ उनले भने, ‘मुख्यगरी माओवादीको मतले एमालेका सुहाङलाई जित्न सहज भयो । यसले आगामी दिनमा सहकार्य बलियो बनाउन विश्वास बढाउँछ ।’

दाहालले गत आम निर्वाचनमा कांग्रेससित गठबन्धन गर्दा सहज ढंगले मत रुपान्तरण नभएको गुनासो गरेका थिए । स्थानीय निर्वाचनमा कांग्रेसको मत माओवादीमा रुपान्तरण नभएपछि उनी चितवन छाडेर गोरखा २ बाट प्रतिनिधिसभामा उम्मेदवार भई विजयी भएका थिए ।

एमालेले प्रतिष्ठाको विषय बनाएको इलाम २ मा माओवादीले सघाएपछि सुहाङले जित निकाल्न सहज भएको हो । उनले कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले जिते । माओवादीको करिब पाँच हजार मत सहज ढंगले एमाले उम्मेदवारलाई रुपान्तरण भएकाले जित्न सहज भएको एमालेको बुझाइ छ । कोशी प्रदेशको नाम कोशी पारित गरेपछि एमालेलाई पहिचानविरोधी आरोप लागि रहेको बेला यो उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको थियो । सुहाङको विजयसभामा ओलीले एमाले नै पहिचान भएको तर्क गरे । ‘इलाममा सूर्यले जित्यो नि त्यही हो पहिचान । त्यही हो गन्तव्य अनि उद्देश्य’ उनको भनाइ थियो ।

एमाले उपमहामसचिव रिमालले विगतभन्दा बढी मतान्तरले एमालेले जित्नु पार्टको राजनीतिक स्थिरताको मुद्दा नै मुख्य कारण भएको बताए । ‘एमाले कमजोर भयो भन्ने भाष्य बनाउन खोजिँदै गरेको बेला यो निर्वाचन परिणाम आएको छ,’ उनले भने, ‘राष्ट्रिय शक्ति निर्माणका लागि यो निर्वाचन परिणामले आधार दिएको छ ।’

उनले एमाले पहिचानविरोधी आरोपलाई खण्डन गरेको समेत बताए । ‘इलामको परिणामले कोशी प्रदेश नामाकरण सही थियो भन्ने पुष्टि गरेको छ’ उनको भनाइ थियो । उनले एउटै सत्ता समीकरण रहेर पनि दलहरुबीच ‘स्वस्थ’ प्रतिस्पर्धा गर्न सकिने सन्देश दिएको पनि बताए । ‘हामी कुनै पनि सिन्डिकेटसहितको गठबन्धनको पक्षमा छैनौं । एउटै समीकरणमा रहेर स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सन्देश हो’ उनको भनाइ थियो ।

उनले सत्ता समीकरणमा रहेका दलबीच स्वस्थ प्रतिस्पर्धा भएकाले सहकार्यमा असर नगर्ने बताए । ‘दलहरुको न्युनतम साझा संकलमा सहमति छ’ उनले भने, ‘स्वस्थ प्रतिस्पर्धामा विजय, पराजयले सहकार्यमा असर किन गर्छ र ?’

सुहाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । २०८० भदौ २७ मा पूर्वसभामुख तथा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

बझाङ १ (१) मा वामपन्थीको थप एक सिट बढेकोले उनीहरुलाई सुदूरपश्चिम सरकार निर्माण सहज भएको छ । प्रदेशसभाको ५२ सिटमा एमालेको ११, माओवादीको सभामुखसहित ११, एकीकृत समाजवादीको ४ र स्वतन्त्र (वामपन्थी) १ र नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ) पक्षका २ सांसद छन् । हाल सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बझाङ १ (१) मा एमालेका दमनबहादुर भण्डारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ को झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भए । भण्डारीले ११ हजार ६ सय १३ मत ल्याउँदा तत्कालीन प्रदेशसभा सदस्य पृथ्वीबहादुरकै छोरासमेत रहेका कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए ।

समीकरणमा रहेका दलहरुले माओवादीले इलाम २ प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेलाई सघाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले, एकीकृत समाजवादीले प्रतिस्पर्धा गरेको थिए ।

बझाङ १ (१) प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा एमाले, माओवादी, एकीकृत समाजवादी एकआपसमा प्रतिस्पर्धा गरे । प्रमुख प्रतिपक्ष कांग्रेस यी दुई क्षेत्रमा मुख्य प्रतिस्पर्धी गरेको थियो । कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

१० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर

पशुपतिको भेटी चोरी

समावेशी आयोगको हविगत !

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए