सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तिंकरवासीका पूरा हुन नसकेका सपना : प्रा. कृष्ण खनाल

२०८१ जेठ २५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दार्चुला जिल्लाको तिंकर सुदूर उत्तर–पश्चिम नेपालको अन्तिम गाउँ हो र काठमाडौंबाट सबैभन्दा टाढाको बस्ती पनि । करिब सत्तरी घरधुरी भएको यो सानो र सुन्दर गाउँमा शौका (व्यासी) समुदायका मानिस बसोबास गर्छन् । नयाँ संविधान लागू भएपछि साविकका व्यास, राप्ला, सुनसेरा, धौलाकोट र हुती गाउँ विकास समिति (गाविस) हरू मिलाएर व्यास गाउँपालिकाको पुनःसंरचना गरिएको छ । साविकको व्यास गाविस (छाङरु, तिंकर) अहिले वडा नं. १ भएका छन् ।

यही जेठको पहिलो साता (१–७ गते) म दार्चुला जिल्लाको छाङरु, तिंकरलगायत उत्तरी सीमावर्ती क्षेत्रको भ्रमण गर्दै थिएँ । तिंकर पुग्ने सिलसिला पनि त्यही थियो । हिमपातबाट जोगिन तिंकर र छाङरुवासीहरू आफ्ना बस्तुभाउसहित वर्षमा ६ महिना बसाइँ सर्छन् । हिउँदमा बस्न, व्यवसाय गर्न दार्चुलाको सदरमुकाम खलंगामा उनीहरूका छुट्टाछुट्टै ठाउँ छन् । वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकी पनि त्यहीँ सर्छन् । म पुग्दा उनीहरू भर्खरै गाउँ पुगेर बारी खनजोत गर्दै थिए । उच्च हिमाली क्षेत्रमा हुने आलु, फापर, जौ, नपल (भोटे गहुँ) लगायत मौसमी तरकारी लगाउने तयारीमा जुटिरहेका थिए ।

सानो गाउँमा कोही नयाँ अनुहार देखेपछि को आयो, किन आयो भनेर सोधखोज हुनु स्वाभाविकै हो । त्यस्तै म तिंकर पुग्दा उमेर ढल्किएको व्यक्ति काठमाडौंदेखि त्यति टाढा किन आयो होला भन्ने खुल्दुली उनीहरूमा देखिन्थ्यो । कुराकानीको सिलसिलामा उनीहरूको मुख्य चासोका दुई कुरा रहेछन्— पहिलो चीनसितको नाका खुल्छ कि खुल्दैन र दोस्रो, तिंकरमा कहिले सडक आइपुग्छ । तिंकर पुग्ने प्रत्येकलाई वर्षौंदेखि उनीहरू यही प्रश्न गर्दा रहेछन् । तिंकर दूरदराजमा रहेको एउटा सानो गाउँ मात्र होइन, नेपालको राष्ट्रिय सुरक्षासित जोडिएको सामरिक महत्त्वको ठाउँ पनि हो । कालापानी, लिपुलेकमा भारतीय कब्जापछि चीनसितको पश्चिमोत्तर नाका जोड्ने विकल्प भनेको तिंकर मात्र हामीलाई उपलब्ध छ । यहींबाट चीनको ताक्लाकोट र मानसरोवर पुगिन्छ । नाका खुले तिंकर, छाङरुलगायत यस क्षेत्रका मानिस ताक्लाकोट गएर व्यापार गर्न पाउँछन् । त्यसमाथि सडक पनि जोडिने हो भने उनीहरूको जीवन अरू सहज हुनेछ ।

पहिलो कुरा त, दार्चुला पुग्न नै कठिन छ । तिंकर त महाकठिन ! काठमाडौंदेखि दार्चुला सदरमुकाम सडकको दूरी झन्डै एक हजार किलोमिटर छ, बसबाट यात्रा गर्दा ३६ घण्टाभन्दा बढी समय लाग्छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म ४२५ किलोमिटर लामो महाकाली करिडोर निर्माणको बृहद् राष्ट्रिय योजना कार्यान्वयनमा छ । सदरमुकाम खलंगादेखि करिब दस किलोमिटर तल महाकाली नदीमा मोटर चल्ने पुल निर्माण सम्पन्न हुने अवस्थामा छ । पुल चालु भएपछि त्यो ठाउँ नेपाल–भारत व्यापार–व्यवसाय र आउजाउको केन्द्र हुनेछ । दार्चुलादेखि तिंकर खण्डमा करिब ११३ किलोमिटर सडक निर्माणको काम भइरहेछ । व्यास गाउँपालिकाको केन्द्र सुनसेरासम्म करिब २६ किलोमिटर कच्ची बाटो तयार भएको छ, जिप चल्न थालेका छन् । बाँकी ८७ किलोमिटर बाटो सेनाले बनाउँदै छ । यी सडक निर्माण सम्पन्न भएपछि तिंकर, छाङरुको अनुहार फेरिने निश्चित छ । तर यो कहिलेसम्म बनिसक्छ भन्न सकिन्न, एक दशकयता त्यो बाटोमा यातायात चल्ने अनुमान गर्न सकिन्न ।

दार्चुला पुगे पनि तिंकर पुग्न सजिलो छैन भन्ने मलाई थाहा थियो, त्यसमाथि म एक्लो सर्वसाधारण यात्री । सम्भव भए एकतर्फी नेपालकै बाटो भएर जाने विचार थियो । उहिले पञ्चायतकालमै २०३४ सालमा हुती गाउँसम्म गएको पनि थिएँ । त्यसबेला त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले एक वर्ष गाउँको विद्यालयमा गएर शिक्षणका साथै सामाजिक काम गर्नुपर्थ्यो । उनीहरूको सुपरिवेक्षणका लागि म त्यहाँ पुगेको थिएँ । हुती अहिले व्यास गाउँपालिकाको एउटा वडा भएको छ । मेरो त्यो पुरानो यात्रा अनुभवका आधारमा तिंकर पुग्न सकिन्नथ्यो । सशस्त्र प्रहरीसित सम्पर्क गर्नसके यो यात्रा सहज हुनेछ भन्ने लागेको थियो, सीमा क्षेत्रमा उनीहरू कार्यरत पनि छन् । दार्चुलामा कार्यरत सशस्त्रका अधिकृतले मेरो यात्रालाई सहजीकरण गरिदिए ।

नेपालको बाटो भएर तिंकर जान असम्भवजस्तै रहेछ । मर्मतको अभावमा पुराना बाटा भत्किसके, कहीँ पहिरोले लगेको छ । टेक्ने ठाउँ पनि देखिन्न । पहिले भारततर्फ सडक नबन्दा त्यस क्षेत्रका भारतीयहरू पनि नेपालकै बाटो भएर आउजाउ गर्थे । तर अहिले भने कहिलेकाहीँ ‘हिमाली यात्रा’ भनेर सेनाले जसोतसो पार गर्दो रहेछ । सेना, सशस्त्र, प्रहरीलगायत उच्चपदस्थ सरकारी अधिकृतहरू हेलिकोप्टर प्रयोग गर्छन् । ठूला हाकिमहरूले सडक निर्माणको प्रगति पनि हेलिकोप्टरबाटै निरीक्षण गर्दा रहेछन् । स्थानीयवासी, कर्मचारी र अन्य नेपाली यात्री झोलुंगे पुल वा तुइनबाट महाकाली तरेर भारतको बाटोबाट आउजाउ गर्छन् । काठमाडौंबाट नेपाललाई तुइन मुक्त गर्ने जति चर्को घोषणा गरे पनि विकट गाउँका मानिसको दैनिकी अहिलेसम्म तुइनसित जोडिएकै छ । व्यास गाउँपालिका वडा नम्बर २ र ५ का स्थानीय बासिन्दा तुइनकै भरमा महाकाली नदी वारपार गर्छन् । यही क्रममा कतिपयले ज्यानसमेत गुमाएका छन् ।

कालापानी–लिम्पियाधुरा विवादको समाधान क्षणिक लोकप्रियताका लागि गरिने सस्तो नाराबाजीभन्दा नेतृत्वमा बस्नेको आत्मविश्वास एवं गम्भीर कूटनीतिक कुशलतामा निर्भर गर्छ । स्थानीय संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ ।

वडा नं १ छाङरु र तिंकर आउजाउ गर्न भारतको बुँदी, गर्ब्याग भएर सीतापुल भन्ने ठाउँबाट महाकाली नदी पार गर्नुपर्छ । त्यो क्षेत्रलाई भारत सरकारले ‘नियन्त्रित क्षेत्र’ घोषित गरेको छ । त्यो बाटो आउजाउ गर्न भारतीय नागरिकले पनि अनुमति लिनुपर्छ । जिल्ला समन्वय समिति (जिसस) दार्चुलाले निवेदक ‘नेपाल–भारत सिमानाको दस किलोमिटरभित्र नेपाली क्षेत्रमा बस्ने’ नेपाली नागरिक भएको प्रमाणित गरेपछि भारतको जिल्ला मजिस्ट्रेट कार्यालय धार्चुलाले ६ महिनाका लागि बुँदी, गर्ब्याग र सीतापुलसम्म ‘बहुयात्रा अनुमति’ दिँदो रहेछ । फाराम हेरेपछि निराश भएँ, म दार्चुला निवासी होइन, कुनै सार्वजनिक वा सरकारी पदमा पनि छैन । मलाई अनुमति नदिँदा गुनासो गर्ने ठाउँ पनि थिएन । तिंकर घुम्नका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने मेरो बाध्यता थियो । तर खासै समस्या भएन, जिससले प्रमाणित गरिदियो र धार्चुला प्रशासनले अनुमति दियो ।

ताक्लाकोट गएर व्यापार गर्ने तिंकरवासीको चाहना यो वर्ष पूरा हुने देखिन्छ । कोभिड महाव्याधिको प्रकोपसँगै बन्द भएका नेपाल–चीन नाका पोहोर सालदेखि खुल्न थालेका छन् । यो वर्ष अरू नाका खुल्दै छन् । पूर्वका तिप्ताला, किमाथांका नाका खुलिसके । असारको दोस्रो साता तिंकर नाका पनि खुल्छ भन्ने संकेत स्थानीय प्रशासनले दिएको छ । नेपाल–चीन व्यापारका लागि तातोपानी–खासा र रसुवा–केरुङ नाकाको राष्ट्रिय महत्त्व छ । सडकमार्गबाट हुने अधिकांश दुईदेशीय व्यापार यिनै ठाउँबाट हुन्छन् । तर पूर्वमा ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म विकट हिमाली क्षेत्रमा बस्ने नेपालीका लागि भने स्थानीय नाका अत्यधिक महत्त्वका छन् । यी नाकासित व्यापारिक कारोबार मात्र होइन, उनीहरूको इतिहास, संस्कृति, समाजलगायत दैनिकीसम्म जोडिएका छन् । यिनले हजारौं वर्षदेखिका समान सभ्यता र संस्कृति बोकेका छन् । यी नाका बन्द हुँदा स्थानीयवासी छटपटिन्छन्, उकुसमुकुस हुन्छन् । कतिपय बसाइँ सरेका छन् । यी ठाउँहरूको भ्रमणका क्रममा मैले त्यसको प्रत्यक्ष अनुभव गरेको छु ।

जहाँसम्म सडकको कुरा छ, तिंकरवासी भन्छन्— ‘चट्टानी भीर फोरेर नेपालको बाटोबाट तिंकरसम्म सडक आइपुग्न निकै लामो समय पर्खिनुपर्नेछ । नेपालकै भूमि भएर बन्ने सडकको महत्त्व आफ्नै छ, त्यो काम जारी रहोस् ।’ सँगसँगै छाङरुदेखि तिंकर खण्डको कामलाई प्राथमिकता दिएर अगाडि बढाउन सकिन्छ । अहिले उनीहरू धार्चुलादेखि सीतापुलसम्म भारतीय बाटो भएर आउजाउ गर्छन् । आफूलाई चाहिने दैनिक उपभोगका सामान ल्याउँछन् । सीतापुलमा भारतीय सीमा चौकी छ, त्यहाँ आउजाउ गर्नेको अनुमतिपत्रसहित अभिलेख राखिन्छ, सामानहरूको जाँच हुन्छ । स्थानीयवासीले आफ्ना लागि चाहिने सरसामान ल्याउन सिमानामा खासै व्यवधान भएको देखिन्न । सीतापुलमा स्थानीयवासी काठेपुलबाट महाकाली पार गर्छन् । भारतबाट छाङरु, तिंकर प्रवेश गर्ने बाटो पनि यही हो । त्यहींबाट छाङरु–तिंकर उपत्यका सुरु हुन्छ, । तल्लो भागलाई छाङरु गागा भनिन्छ, त्यहाँ आठ–दस घर मात्र छन् । करिब १६० घरपरिवार रहेको छाङरु गाउँ अलि माथि छ । गागाबाट करिब १३–१४ किलोमिटर दूरीमा तिंकर गाउँ पुगिन्छ । यो खण्डमा सडक भए स्थानीयको जीवन केही सजिलो हुन्थ्यो, उपभोग्य वस्तु पनि सस्तो र सहज प्राप्त हुन्थ्यो भन्ने स्थानीयको चाहना हो ।

छाङरुदेखि तिंकरसम्मको बाटो खोल्न त्यति कठिन देखिन्न । अहिले चालु रहेको पैदलमार्गलाई नै आधार बनाएर विस्तार गर्दा सजिलै ट्र्याक खोल्न सकिन्छ । त्यहाँ खासै ठूला चट्टान र भीर पनि छैनन् । हो, निर्माणका लागि आवश्यक पर्ने औजार र उपकरण पुर्‍याउन भारतसित समझदारी गर्नुपर्ने हुन्छ, उसको सहयोग आवश्यक हुन्छ । ट्य्राक खोल्ने काम त छ महिनामै गर्न सकिन्छ । अर्को कुरा, छाङरु त्यस क्षेत्रको सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण ठाउँ हो । सशस्त्र प्रहरीको गुल्म छ, नेपाल प्रहरी र भन्सार कार्यालय पनि छन् । तिंकर छाङरुबाट उत्तरतिर पर्छ भने दक्षिण–पश्चिम महाकाली नदीको किनारैकिनार भारतले कब्जा गरिरहेको गुन्जीको छेउ र त्यहाँबाट उत्तर–पश्चिम कालापानीको छेउसम्म पुग्न सकिन्छ । गुन्जीवारि नेपालको नियन्त्रणमा रहेको तल्लो कौवा, माथिल्लो कौवामा फराकिला टारहरू छन् । केही वर्षअघिसम्म त्यहाँ आवादी रहेको अनुभूति हुन्छ । भग्न गोठहरू अझै छन् । त्यहाँ बीओपी राख्न सके सीमा र वनजंगलको समेत सुरक्षा हुन सक्छ । छाङरुदेखि त्यता पनि सजिलै सडक तान्नसमेत सकिन्छ । राष्ट्रियता भनेको देशसितको अडभरोसा पनि हो । सडक सञ्जालले त्यो भरोसा बढाउँछ ।

कालापानीमा भारतीय फौज बस्नुभन्दा पहिले यही तल्लो कौवा, माथिल्लो कौवा भएर यस क्षेत्रका व्यासीहरू नेपाल वा भारत जता बसे पनि लिपुलेकको बाटो भएर ताक्लाकोट, मानसरोवर आउजाउ गर्थे । लिपुलेक खोलाको किनारैकिनार उत्तर लागेपछि कालापानी हुँदै लिपु भन्ज्याङ पुगिन्छ । लिपुपास त्यस क्षेत्रबाट ताक्लाकोट, मानसरोवर आउजाउ गर्ने सबैभन्दा सजिलो र होचो भन्ज्याङ मानिन्छ । पुस–माघका दुई महिनाबाहेक वर्षैभरि यो नाका चालु राख्न सकिन्छ । चौडा बाटाका डोबहरू अझै देख्न सकिन्छ ।

महाकाली नदीको उच्च हिमाली भूभागमा पर्ने व्यास हिमाली क्षेत्र सुगौली सन्धिपछि नेपाल र भारत दुई देशमा विभाजित भयो । महाकालीवारिको भाग नेपाल भयो, पारि भारत । देशको सीमाले छुट्याए पनि शौका समुदायको बिहावारी, सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आपसी सौहार्दता कायमै छ । बिहावारी, सांस्कृतिक चाडपर्वमा स्थानीयहरूको आउजाउ अहिले पनि चलिराखेको छ । तर त्यस क्षेत्रको आफ्नो भूभाग गुन्जी, नाभी, कुटीलगायत कालापानीलाई न नेपालले संरक्षण गर्न सक्यो, न ब्रिटिसकालदेखि नै भारतले छोड्यो । त्यहाँका मानिसको नेपाल राज्यसितको सम्बन्ध पनि टाढिँदै गयो ।

नेपालले औपचारिक रूपमा चुच्चे नक्सा जारी गरेपछि यो क्षेत्र बढी संवेदनशील भएको छ । सुगौली सन्धिको लिखतअनुसार महाकाली नदीदेखि वारिको भूभाग नेपाल हो । नक्साले त्यो भाग नेपालको हो भन्ने दाबीलाई स्थापित गर्छ । तर त्यसलाई व्यवहारमा उतार्न जुन किसिमको कूटनीतिक पहल र कुशलता चाहिन्छ, त्यो केही भएको देखिन्न । राजनीतिक प्रचारबाजी नै कूटनीति होइन । दुई सय वर्षदेखि त्यसको भोगचलनमा नेपाल पछि परेको छ । चीनले पनि लिपुलेकसम्म भारतको उपस्थितिलाई स्वीकार गरेको छ । सन् १९५४ मा चीन र भारतले लिपुलेक भएर सांस्कृतिक तथा व्यापारिक आदानप्रदान गर्ने सम्झौता गरे । त्यसको निरन्तरतालाई सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेलासम्म दुवै देशले दोहोर्‍याउँदै आएका छन् । नेपाल र चीनले सन् १९६१ मा गरेको सीमा सन्धिमा पनि नेपाल–चीन सिमानाको पश्चिमी हद कहाँ हो भनेर उल्लेख नहुनु र लिम्पियाधुरा, लिपुलेकभन्दा धेरै वर तिंकर भन्ज्याङबाट नेपाल–चीनको संयुक्त सीमास्तम्भ प्रारम्भ गरिनुले पनि हाम्रो दाबीलाई कमजोर बनाएको छ ।

कालापानी–लिम्पियाधुरा विवादको समाधान क्षणिक लोकप्रियताका लागि गरिने सस्तो नाराबाजीभन्दा नेतृत्वमा बस्नेको आत्मविश्वास एवं गम्भीर कूटनीतिक कुशलतामा निर्भर गर्छ । स्थानीय संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ । काठमाडौंमा हुने सस्तो लोकप्रियताको प्रचारबाजीप्रति स्थानीयहरू सशंकित र चिन्तित हुन्छन् । उनीहरू भन्छन्— ‘राष्ट्र त हाम्रो पनि हो । काठमाडौंमा हल्ला गर्दा तपाईंहरू राष्ट्रवादी ठहरिने, तर हाम्रो यहाँ दैनिकी बिग्रिने । सबैलाई समान हुने राष्ट्रियताको कुरा गर्नुस् ।’ कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको सय दिन र औचित्य : अर्जुननरसिंह केसी

अर्थतन्त्रको तथ्याङ्कीय तस्बिर : कृष्णहरि बास्कोटा

विकासका नाममा सांसदको द्रव्यमोह ! – गौरीबहादुर कार्की

मोदीको शपथ र दाहालको वक्तव्य : इन्द्र अधिकारी

नक्सा नेपालको असन्तुष्टि भारतको : बुद्धिनारायण श्रेष्ठ

भारतीय आम निर्वाचनको परकम्प : वसन्त लोहनी

किचलोमा पत्रकारको सदस्यता : डा. सुरेश आचार्य

सुहाउॅदो आकार, सन्तुलित बजेट : रामेश्वर खनाल

बजेट कार्यान्वयनका चुनौती : प्रेमलकुमार खनाल

गणतन्त्र जनताले सुखद अनुभूति गर्नपाउने अवस्था बन्नुपर्छ : अर्जुननरसिंह केसी

विषाक्त सत्ता, विघटनोन्मुख समाज : अच्युत वाग्ले

द्वन्द्वउन्मुख देश : नन्दकृष्ण जोशी