सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मानिस मात्र होइन जनावरका लागि पनि धराप

२०८१ जेठ २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप बनेका छन् । कर्णाली नदीमा रहेको त्यस्तै झोलुङ्गे पुलको लट्ठा चुँडिँदा दुई खच्चड मरे ।

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडा र कर्णाली प्रदेशको दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लट्ठा आइतबार चुँडिँदा फसेका १३ मध्ये ११ खच्चडको भने जीवितै उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा जीवन रोका मगरका दुई वटा खच्चड मरेका छन् ।

खाद्यान्न ढुवानी गर्न अछामको कालेकाँडाबाट दैलेखको खिड्कीज्युला जाने क्रममा एकतर्फको लट्ठा चुँडिएको थियो । लट्ठा चुँडिँदा स्थानीय जीवन रोकामगर, नवीन रोकामगर र राजेन्द्र बोहराका १३ खच्चड पुलमा फसेका थिए ।

खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्ला प्रशासनले तदारुकता देखाउँदा पुलमा फसेको चार घण्टामा उद्धार भएको हो । घटनास्थल पुग्नुभएका अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार अछाम तथा दैलेख जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेर संयुक्त रूपमा उद्धार गर्न सफल भएको हो ।

“पुलको लट्ठा चुँडिँदा पुल नै कोल्टे परेको छ । पुलमा थप जोखिम भएकाले बन्द गर्नुपर्ने अवस्था छ । अहिलेलाई पुल बन्द गर्नुपर्ने छ,” घटनास्थल पुग्नुभएका अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले भन्नुभयो ।

पुलमा आवतजावत बन्द हुँदा दैलेखबाट अछामको चण्डिका माध्यमिक विद्यालय जाने विद्यार्थीलाई मर्का परेको छ । उनीहरूले कर्णाली नदीमा डुङ्गाको सहायताले वारपार गर्नुपर्ने अवस्था आएको छ । अछामबाट बोर्डिङ स्कुल पढ्न दैलेखको राकम कर्णाली जाने विद्यार्थीलाई पनि पुल बन्द हुँदा जान समस्या भएको छ । आइतबार बिहान पुलबाटै हिँडेर विद्यालय गएका बालबालिका साँझ घर फर्किंदा डुङ्गाबाट नदी तरेर घर पुगेका थिए । सो विद्यालयका कतिपय शिक्षकको डेरासमेत दैलेखमा छ । उनीहरूलाई पढाउन जान समस्या भएको छ । दैलेखबाट चण्डिका माध्यमिक विद्यालयमा ७० जनाभन्दा बढी विद्यार्थी पढ्न जाने गर्छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ को एक मात्र बजार दैलेखको खिड्कीज्युला बजार भएकाले स्थानीयलाई दैनिक उपभोग्य सामग्री किनमेल गर्नसमेत असहज हुने स्थानीय भरत साउदले बताउनुभयो । कालेकाँडावासीका लागि पुल मात्र भत्किएको छैन, उनीहरूको बिहानबेलुकीको हात मुख जोड्ने माध्यम पनि बन्द भएको साउदको भनाइ छ ।

पुल मर्मत नहुँदासम्म कालेकाँडाका बासिन्दालाई खाद्यान्न र अन्य दैनिक जीवनयापनमा कठिनाइ हुने स्थानीय बताउँछन् । कालेकाँडाको माथिल्लो क्षेत्रमा सडक सञ्चालन नहुँदा यातायातको साधनका रूपमा खच्चडको प्रयोग हुने गरेको छ ।

२०५८ सालमा निर्माण भएको पुल मर्मतसम्भार नहुँदा जीर्ण बनेको हो । पुलको मर्मतको काम कहिले सुरु हुन्छ भन्नेबारे सरकारी निकाय अनभिज्ञ छ । वडाध्यक्ष रामप्रसाद जैसीले पुल पुनर्निर्माणका लागि नगरप्रमुखसँग छलफल भइरहेको बताउनुभयो ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको महाधिवेशन : १५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

पर्यटकीय गन्तव्य जितगढी किल्ला

‘सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक’

नेपालमा राजनीतिक स्थिरता होस

घरेलु कामदारको तलब अब डिजिटल माध्यमबाट

सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म

मेलम्चीको पानी तत्काल बन्द नहुने

कमलामाई नगरपालिकालाई गरियो ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

संसद्‍मा प्रधानमन्त्री वक्ता, कुर्सी श्रोता

गरिबको गाई सानन बाख्रा !

एसइईको नतिजा एक साताभित्र

क्याबिनेटको निर्णय किर्ते गर्नेलाई प्रचण्डको मौन समर्थन