सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कता जाँदै छौं हामी ? – डा. प्रकाशचन्द्र लोहनी

२०८१ असार १८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

के हामी नेपाललाई विकसित राष्ट्र बनाउन चाहन्छौं ? यो प्रश्न उठाउँदा धेरैले मूर्ख भन्न सक्लान् । यस्तो प्रश्नको पनि उत्तर खोज्नुपर्छ र ? निश्चय पनि हामी हाम्रो राष्ट्रलाई विकसित, सुखी र समृद्ध बनाउन चाहन्छौं । यदि यही उत्तर हो भने अर्को प्रश्न आउँछ– नेपाललाई विकसित राष्ट्र बनाउन चाहिने परिवर्तन स्वीकार गर्न के हामी तयार छौं ?

यो प्रश्नको उत्तर सजिलो छैन । अरूलाई परिवर्तनको शिक्षा दिन सजिलो छ । आफू त्यो शिक्षाअनुसार परिवर्तन हुन गाह्रो छ । जस्तो कि अरूलाई भ्रष्टाचार नगर्नु भनेर उद्घोष गर्न सजिलो छ । तर सत्तामा रहँदा त्यो उद्घोषअनुसार काम गर्न हामी कति तयार छौं ? यसको उत्तर अरूबाट आउँदैन । आँखा चिम्लेर आफ्नै सक्कली अनुहार हेर्नुपर्ने हुन्छ ।

व्यक्तिगत र सार्वजनिक आकांक्षा

हामी विकसित देशका चिल्ला सडक देख्छौं । त्यहाँका विश्वविद्यालयमा पढ्न पाउँदा गर्व गर्छौं । विश्वविद्यालयको स्तर, भौतिक सम्पत्तिको मर्मतसम्भार र सुन्दरताको प्रशंसा गर्छौं । हाम्रो देशमा यस्तो गर्ने सोच किन नआएको भनेर विचार पनि गर्छौं तर आफू पदमा पुग्दा हामीमध्ये कतिले यो सपनालाई यथार्थमा पुर्‍याउने प्रयास गरेका छौं ? हाम्रा सार्वजनिक आकांक्षामा विकसित देशको कल्पना आउँछ । तर व्यक्तिगत क्रियाकलापमा त्यो कल्पनाको सानो अंश पनि खोज्नुपर्ने हुन्छ । अनि प्रश्न आउँछ– हामी परिवर्तनका संवाहक हौं या परिवर्तनका विरोधी ? शब्दले होइन कर्मले मात्रै यथार्थ बताउँछ । कर्मले मात्रै को परिवर्तनकारी या पश्चगामी भन्ने बोलिरहेको हुन्छ ।

यहाँ प्रश्न आर्थिक विकासको मात्रै होइन । राष्ट्रिय जीवनका हरेक अंगमा हामी विकसित नेपालका संवाहक हौं या राष्ट्रको पतनको प्रवर्तक भन्ने हाम्रो कर्मले देखाइरहेको हुन्छ । धेरै ठूला सैद्धान्तिक बहसभन्दा साना–साना क्रियाकलापले नै यो यथार्थ प्रस्ट गरिरहेको हुन्छ । हामी निमुखा गरिबको स्वास्थ्यका लागि भनेर औषधि किन्न रकम खर्च गर्छन् । त्यो रकम जनताले तिरेको कर हो । नेपाललाई विकसित राष्ट्र बनाउने हो भने कमसेकम देश हाँक्नेहरूले यो जनताको रकम हो, यसको सदुपयोग गर्नुपर्छ भनेर सोच्न जरुरी छ । समृद्ध नेपाल बनाउने लक्ष्यलाई नयाँ परिवर्तनको मूल आधार बनाउने कि नबनाउने ?

यी मान्यताहरूको सँगालोले अर्थ–राजनीतिक संरचनालाई दिशानिर्देश गर्छ र शासकीय वैधानिकताको भाष्यको रूप लिन्छ । प्रश्नको उत्तर खोजेर आफूलाई रूपान्तरित गर्ने कि नगर्ने ? यहाँ विकास अन्ततोगत्वा व्यक्तिको मान्यतासँग जोडिन्छ । परिवर्तनको सूत्रधार नयाँ मेसिन र प्रविधि मात्र होइनन् । निर्णयको जिम्मा लिएर बसेका व्यक्ति–व्यक्तिको मान्यतासँग जोडिन्छ । नेतृत्वसँग जोडिन्छ ।

अरूलाई ‘भ्रष्टाचार नगर्नु’ भनेर अर्ती दिन सजिलो छ । तर सत्तामा रहादा त्यो उद्घोषअनुसार काम गर्न हामी कति तयार छौं ? यसको उत्तर अरूबाट आउँदैन । आँखा चिम्लेर आफ्नै सक्कली अनुहार आफैंले हेर्नुपर्ने हुन्छ ।

हरेक परिवर्तन र शासनका मान्यताहरू हुन्छन् । ती मान्यताले सामाजिक स्थायित्वको संरचना खडा गरेको हुन्छ । त्यस्तै, परिवर्तनका ठूला–ठूला गफ हाँक्ने हामी सहकारीबाट लाखौं गरिब जनताको रकम लुटिँदा जनतालाई न्याय दिलाउनुको साटो सत्ताको धुले खेलमा आफ्नो मान्यता किन बिर्सिरहेछौं ? नेपालमै जहानियाँ शासनको आफ्नै मान्यता थियो । जसअनुसार एउटा सानो समूहले राज्यको सम्पत्ति आफ्नो हकहितका लागि प्रयोग गर्थ्यो तर यसमा उनीहरूभित्र इमानदारिता थियो ।

जहानियाँ शासनको उद्देश्य जनताको सामाजिक र आर्थिक विकास थिएन । यो भ्रम र कल्पना उनीहरूमा थिएन । तर त्यसपछिका सबै पिँढीले भने– अब हामी नयाँ नेपाल बनाउँछौं । पुरानो मान्यताको ठाउँमा जनताकेन्द्रित मान्यता स्थापित गर्छौं भनेर ठूला–ठूला भाषण गरिए । ठूला दार्शनिक र चिन्तकहरूका तस्बिर र दृष्टिकोणले देश व्याप्त भयो । पुरानो भत्काउने र नयाँ संसार स्थापित गर्ने कल्पनाको भण्डार पेस भयो । यस क्रममा जुलुस भए, सडक संघर्ष भए, बन्दुक संघर्ष भए । धेरैले ज्यान गुमाए तर पनि हामी कहाँ छौं ? परिवर्तनका धेरै गगनभेदी नारा लागे तर इतिहासले हामीसँग ठट्टा गरेछ । अरूलाई परिवर्तनको बाटोमा हिँडाउनेहरू यथार्थमा आफू त जहानियाँ शासनकै मनस्थितिमा रहेछन्, त्यहाँ केही परिवर्तन भएको रहेनछ ।

सामन्ती जहानियाँ शासनमा शासक र भारदारको झुन्ड थियो, जसले देशलाई आफ्नो ठूलो बिर्ता सम्झिन्थ्यो । अहिले यो झुन्ड ठूलो भएको छ । जहानियाँ शासनको ठाउँमा दलीय शासन छ । तर शासकीय मूल्य र मान्यता झन्डै एउटै छ । जसरी हुन्छ, एउटा सानो झुन्डको स्वार्थका लागि राज्यको स्रोतसाधनको सकेसम्म दोहन गर्ने तर भाषणमा अग्रगमनको नारा दिने । आखिर चन्द्रशमशेरले पनि त्रिचन्द कलेज खोलेकै हुन् र जुद्धशमशेरले उद्योग विस्तार गरेकै हुन् । सती प्रथा उन्मूलन गर्ने र कमाराकमारी अमलेख गर्ने सामाजिक सुधार पनि गरेकै हुन् । तर हामी त्यो शासनलाई सामन्ती शासन भन्छौं । किनभने पहाड—हिमाल—तराईको आम जनताको शोषण उनीहरूको केन्द्रबिन्दु थियो र यसबारे उनीहरूमा कुनै भ्रम थिएन ।

आज परिवर्तनको भ्रम छ किनभने नयाँ शासकीय संरचनाहरू छन्, यथार्थमा काम गर्ने मान्यता त्यो सामन्ती झुन्डको भन्दा फरक छैन । संरचनागत परिवर्तन छ र क्रियात्मक यथार्थता पुरानै छ । पुँजीवादी लोकतन्त्र होस् या समाजवादी रूपान्तरण, नयाँ–नयाँ नारा दिएर एउटा सानो शोषक वर्गले आफ्नो उन्नति गर्ने परम्पराले बल पाएकै छ । रूपमा हामी क्रान्तिकारी चेतना र वर्ग दुस्मनविरुद्ध एक भएर लड्ने नारा दिन्छौं । तर, सत्तामा हुँदा त्यो क्रान्तिकारी चेतनाले आम जनताको रगतपसिना बगाएर तिरेको ट्याक्समा लुट मच्चाउनु स्वाभाविक आवश्यकता सम्झेर शासन चलाउँछौं । सारा देश भ्रष्टाचारले खोक्रो भएर गएको हामी देख्दैनौं ।

परिवर्तनका धेरै गगनभेदी नारा लागे तर इतिहासले हामीसँग ठट्टा गरेछ । अरूलाई परिवर्तनको बाटोमा हिँडाउनेहरू यथार्थमा आफू त जहानियाँ शासनकै मनस्थितिमा रहेछन्, त्यहाँ केही पनि परिवर्तन भएको रहेनछ । 

लाखौं युवा कामका लागि मात्र होइन अध्ययनका लागि भनेर देशबाट बाहिर जान हतारिएको मनस्थितिलाई हाम्रो क्रान्तिकारी र समाजवादी चिन्तनले स्वाभाविक ठान्छ । क्रान्तिकारी चेतना निर्माण गर्ने र जनताको फक्षमा संघर्ष गर्ने शति निर्माणका लागि हामी आह्वान गर्छौं तर नेपालमा भविष्य नदेखेपछि युवालाई विदेश पठाउन क्रान्तिकारी शासकहरू नै अग्रपंक्तिमा देखा पर्छन् । हामी समाजको प्रधान अन्तरविरोधको ठूला गफ गर्छौं, प्रधान दुस्मनविरुद्ध निसाना लगाउने कुरा गर्छौं । आफूले पनि नबुझ्ने जनवादका शब्दावली प्रयोग गर्छौं । तर, शासकीय व्यवहार, शैली र चरित्रमा सर्वहारा गरिबको दुस्मन आफू स्वयं रहेको कटु यथार्थप्रति आँखा चिम्लन्छौं ।

सामन्तवाद गयो ?

रूपमा हामी आफूलाई समाजवादी, क्रान्तिकारी या यस्तै अनेक वादीको अनुहार लिएर जनतासमक्ष प्रस्तुत हुन्छौं । व्यवहारमा जहानियाँ शासनको शोषणशैलीमा रीत पुर्‍याएर होस् या पेलेर, देशमा उपलब्ध स्रोतसाधनको लुट गर्ने प्रवृत्तिलाई त्याग्न तयार छैनौं । पुँजीवादी लोकतन्त्रबाट समाजवादी अर्थतन्त्रको महान् यात्रामा गोलबन्द हुन सबैलाई आह्वान गर्छौं तर व्यवहारमा आफ्नो सत्ता र द्रव्यमोहलाई क्रान्तिको उच्चतम अभिव्यक्ति देख्ने मनस्थितिलाई सुरक्षित राख्छौं ।

त्यसलाई सार्वजनिक नीतिको आधार बनाउँछौं । जनता लुट्ने, साधन दुरुपयोगमा प्रशासनलाई हतियार बनाउने, आफ्ना भारदारको राजनीतिक र आर्थिक शक्ति सुनिश्चित गर्ने, विकासका नाममा आउने रकममा बढीभन्दा बढी कुत असुल्ने र विदेशीको आशीर्वादलाई आफ्नो स्थायित्व सम्झने क्रान्तिकारीहरूबाट देशको विकास हुँदैन ।

बरु पाखण्डपनको यात्रामा हामी अगाडि बढिरहेका छौं । रूप क्रान्तिकारी, नारा क्रान्तिकारी, सार अवसरवाद, लम्पसारवाद र आर्थिक शोषणको भुमरीमा सीमित छ । तर, जनता छक्याउन सामन्तवादको नयाँ रूप लुकाएर हामी भन्छौं– देशमा अब सामन्तवाद गइसक्यो । ठीक हो, जहानियाँ शासनको सामन्तवाद गयो, दलीय शासनबाट संरक्षित सामन्तवादको परिमार्जित शैलीको नयाँ अवतार नवसामन्तवादले जग गाड्दै छ । यस्तो नहुनुपर्ने हो । अब प्रश्न छ, देशमा जनताको विश्वासको दुरुपयोग गरेर जहानियाँ शासनको नयाँ रूप ‘दलीय नवसामन्तवाद’ खडा गर्ने या समावेशी प्रगतिशील उदारवादलाई अगाडि बढाउने ?

अहिलेसम्म यो प्रश्नमा नेपालका शासकहरूको रूप र सारबीचको खाडल बढ्दै गएको छ । यो अन्तरविरोधले हामी कमजोर हुँदै गएका छौं । परनिर्भर बन्दै गएका छौं । आफ्नो स्वाभिमान र आत्मसम्मानमाथि विदेशी चुनौतीलाई स्वाभाविक ठान्ने स्थितिमा पुग्दै छौं । काम या पढ्नका लागि विदेश जाने हरेक युवाले यसलाई महसुस गर्छ ।

मौका पाउनेबित्तिकै भगवान्को दर्शन पाएजसरी विदेशीसँग गोप्य दर्शन गर्नुलाई आफ्नो रवाफ सम्झने नेताले पनि महसुस गरेको हुनुपर्छ । उद्योग विनाशका कारणले रोजगारी नपाएर रोएका सर्वहारा मजदुरले महसुस गरेको हुनुपर्छ । समयमा मल नपाउने किसान र विदेशबाट चामल आएर मात्र भान्छा चल्ने गृहिणीले महसुस गरेको हुनुपर्छ । रगतपसिना चुहाएर सहकारीमा जम्मा गरेको रकममा लुट भएको यथार्थलाई सहिरहेका हरेक गरिबले महसुस गरेको हुनुपर्छ ।

नेपाल अब पुनर्जागरणको खोजीमा छ । नाराले होइन, व्यवहारबाट दिशानिर्देश गर्न सकिएन भने अब आउने हुरी र भुमरीमा हामी कहाँ पुगौंला ? देशको गति के होला ? हामी सबैले चिन्तन गर्ने समय आइसकेको छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बजेट, मौद्रिक नीति र समृद्धि : अच्युत वाग्ले

प्रचण्ड-सत्ताच्युतपछिको वाम-आन्दोलन : हरि रोका

आज मेरो मनमा के छ ? – केपी शर्मा ओली

प्रचण्डपथमा रास्वपा – जैनेन्द्र जीवन

प्रचण्डको जादु र रास्वपाको घट्दो साख : श्यामप्रसाद मैनाली

संकटले जन्माएको स्वाभाविक गठबन्धन : गोपाल खनाल

दुई दलीय प्रणालीको बहस – इन्द्र अधिकारी

नेपाल-चीन सीमाका मुख्य मामिला – बुद्धिनारायण श्रेष्ठ

समीकरणको नीति, निष्ठा र नियत – अच्युत वाग्ले

केका लागि सत्ता परिवर्तन ? – श्यामप्रसाद मैनाली

विकास कसरी सम्भव हुन्छ ? – लोकराज बराल

प्रहरी अनुसन्धानमा राजनीतिक प्रपञ्च : राजेन्द्रसिंह भण्डारी