सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस-एमाले समझदारी: अन्योलमा मन्त्रीहरू

२०८१ असार १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति बने पनि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने बताएका छन् ।

दिनभरजसो अन्योलमा रहेका मन्त्रीहरूले पनि मंगलबार दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय गरेनन् । बरू सामान्य भेटघाटमै उनीहरूले पनि दिन कटाए । रास्वपाको सचिवालय बैठक सकिएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल श्रम मन्त्रालय पुगेका थिए । रास्वपाले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो । ‘म पार्टीको सचिवालय बैठकपछि सधैंझैं सिधै मन्त्रालयमा आएँ । आफ्नो प्रशासनिक कामहरू गरें,’ मन्त्री अर्यालले थपे, ‘पहिलाजस्तै नियमित काम नै भयो ।’ बिहान ११ बजे मन्त्रालय पुगेका उनी साँझ ६ बजे निस्किएका थिए । ‘हामीले सरकार छोडिसकेको छैनौं । सरकारले पनि हामीलाई केही बताएको छैन,’ अर्यालले भने । यद्यपि, मंगलबार आफूले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगरेको उनले बताए ।

त्यस्तै, जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको राजनीतिक सहमतिबारे आफूले समाचारहरूबाट मात्रै थाहा पाएको र औपचारिक जानकारी कसैले नगराएको भन्दै बदलिएको राजनीतिक समीकरणबारे पार्टीले पनि औपचारिक धारणा बनाई नसकेको बताए । ‘अध्यक्षजीको शल्यक्रिया भएका कारण आज हाम्रो कुनै औपचारिक बैठक बसेको छैन । न कसैले औपचारिक रूपमा नयाँ सत्ता समीकरणका बारेमा हामीलाई बताएको नै छ । त्यसैले अहिले समाचार आएकै भरमा सबै निर्णय गर्ने कुरा पनि आएन,’ मन्त्री यादवले भने, ‘प्रधानमन्त्री दाहाल वा कांग्रेस, एमालेबाट औपचारिक कुरा आएपछि के गर्ने भन्नेबारे निर्णय गर्छौं ।’

त्यसो त मन्त्रालयमा सोमबार पत्रकारसँगको भेटमा स्वास्थ्यमन्त्री यादवले सत्ता समीकरणमा बदलाव आए पनि आफ्नो मन्त्री पदलाई केही फरक नपर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले नै सोमबारको मन्त्रिपरिषद्को बैठकमा सत्ता समीकरणमा कुनै बदलाव नहुने दाबी गर्दै मन्त्रीहरूलाई ढुक्क भएर काम गर्न निर्देशन दिएका थिए । तर मध्यरातमा कांग्रेस र एमालेबीच भएको समझदारीपछि भने विकसित राजनीतिक घटनाक्रमलाई लिएर मन्त्रीहरूमा अन्योल देखिएको छ ।

एमालेको प्रतिनिधित्व गर्दै हालको सरकारमा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका रघुवीर महासेठले पनि मंगलबार तीन घण्टा मात्रै मन्त्रालयमा बिताए । मध्याह्न १२ बजे मन्त्रालय पुगेका उनी पार्टीको सचिवालय बैठकमा भाग लिन ३ बजेतिर च्यासलका लागि निस्किए । कार्यकक्षमा उनले सचिवसँग मन्त्रालयको काम–कारबाहीसम्बन्धी आवश्यक जानकारी लिने काम मात्रै गरे । ‘मन्त्रीज्यू अघिपछिजस्तै मन्त्रालय आउनुभयो, जानकारी लिने काम गर्नुभयो । केही सामान्य भेटघाटहरू भए,’ उनको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि पार्टीको बैठक छ भनेर निस्कनुभयो ।’ अघिल्लो दिन सोमबार मात्रै उनले बजेट अभाव भएका निर्माणाधीन आयोजनामा प्रक्रिया पूरा गरी अन्य आयोजनाबाट रकमान्तर गरी पठाउन योजना शाखाका कर्मचारीलाई निर्देशन दिएका थिए ।

मंगलबार मध्याह्न मन्त्रालय पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सचिव र उच्च अधिकारीहरूसँग मन्त्रालयको कामबारे छलफल गरेका थिए । माओवादीका उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठ त्यसपछि संघीय संसद्को राष्ट्रिय सभामा सहभागिता जनाउन नयाँ बानेश्वरस्थित संसद् भवन पुगे ।

राष्ट्रिय सभामा परराष्ट्र मन्त्रालयसम्बन्धी बजेट विनियोजनको छलफल सकेर ३ बजे पुनः मन्त्रालय नै फर्किए अनि कर्मचारीसँग कामका विषयमा छलफल गरेर ५ बजे बाहिरिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने दिनभर मन्त्रालयमै व्यस्त देखिइन् । विद्यार्थी लक्षित करिअर काउन्सिलिङसम्बन्धी वेबसाइट सार्वजनिक गरिन् । स्वीकृत भइसकेको शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधिलाई वेबसाइटमार्फत सार्वजनिक गर्न लगाइन् ।

पूर्वसचिव शंकरप्रसाद कोइराला संयोजकत्वको अध्ययन समितिले बुझाएको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनसम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरिन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दूरगामी प्रभाव पर्ने निर्णयहरू नगर्न निर्देशन आएकाले नियमित र प्रक्रियामा रहेका काम मात्रै सम्पादन भयो,’ उनको सचिवालयले भन्यो ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार नै दीर्घरोगीहरूका लागि औषधि उपचार खर्चबापत ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गरेका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् । उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए । चालु बजेटबाट निकासा गरिएको उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुने मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पुनले एमालेले सत्ता गठबन्धनबाट माओवादीलाई फाल्नुको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । ‘हामीले सुशासन, समृद्धि, सन्तुलित बजेट ल्याएको हुनाले फाल्ने हो कि, आर्थिक शिथिलतालाई राम्रो गर्दै गएको हुनाले विस्थापित गर्न लागेको हो ? त्यसको चित्तबुझ्दो जवाफ चाहियो,’ उनले कान्तिपुरसँग भने, ‘होइन भने, हामी सरकार तत्काल नछाड्ने कुराको औचित्य पुष्टि गर्छौं र फेरि बुहमतको सरकार बनाउँछौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ मंगलबार औपचारिक कार्यक्रममा सहभागी भएनन् । उनका छोरा तथा स्वकीय अधिकृत रुपक तामाङका अनुसार पर्यटनमन्त्रीले मंगलबार मन्त्रालयकै नियमित काम गरे । ‘मन्त्रीको बाहिर कतै कार्यक्रम भएन,’ उनले भने, ‘मन्त्रालयमै भेटघाट र दैनिक काम गरेर फर्किनुभयो ।’ कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एघार वडामा ठुला पूर्वाधार निर्माण

प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त ओलीद्वारा दाबी पेस

निजी खर्चमा विद्यालयमा क्लिनिक

१७ महिनापछि प्रचण्ड सत्ताबाहिर

अर्थले रकम निकासा नगर्दा निर्माण व्यवसायीको बिचल्ली

ग्यासमा दुुई थरी मूल्य कायम गर्ने तयारी

राप्रपा संसदीय दलको बैठक आज बस्दै, प्रधानमन्त्रीले लिने विश्वासको मतबारे निर्णय हुने

शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत

मेलम्चीको पानी बाह्रै महिना ल्याउने उपाय सुझाउन निर्देशन

समाजवादी मोर्चाको मोर्चाबन्दी सुरु

७८ वर्षपछि सर्वाधिक वर्षा

प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय