सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित फाइल खुल्ने भएपछि एमाले-काँग्रेस नयाँ गठबन्धनमा लागे : अर्थमन्त्री, बर्षमान पुन (अन्तवार्ता)

२०८१ असार २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंलाई एमाले–माओवादी गठबन्धनको एउटा आर्किटेक्ट मान्ने गरिन्छ । कहाँनेर फेल खायो तपाईंहरूको इन्जिनियरिङले ?

वाम सहकार्यका लागि हामीले विगतदेखि नै जोड गर्नुका पछाडि सैद्धान्तिक राजनीतिक पृष्ठभूमि छ । खासमा प्रधानमन्त्रीका रूपमा कमरेड प्रचण्ड पहिले नै असाध्यै सुरक्षित अवस्थामा हुनुहुन्थ्यो । हामी कांग्रेससँग गठबन्धनमा हुँदा राष्ट्रिय सभा चुनाव लगायत सानातिना मतभेद नभएका होइनन्, तर त्यसैका कारण कांग्रेस–माओवादी गठबन्धन टुट्ने अवस्था थिएन ।

हामीले सामाजिक न्यायका मुद्दा अनि भविष्यको सहयात्रा इत्यादि सोचेर वाम र प्रगतिशीलहरू निकट हुँदै जानुपर्छ भनेर सोचेका थियौं । वाम लगायत नयाँ शक्तिहरूको निकटताकै लागि पछिल्लो गठबन्धन बनाएको हो । तर अहिले फर्केर हेर्दा एमाले र मूल रूपमा ओलीजी वाम, प्रगतिशील र नयाँ शक्तिको पक्षमा हुनुहुँदो रहेनछ भन्ने घटनाक्रमले पुष्टि गरे ।

तर एमाले नेताहरू शृंखलाबद्ध बोल्दै हुनुहुन्छ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएर फर्केपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सरकारको नाममा कांग्रेससँग फेरि मिल्न खोज्नुभयो !

त्यो उहाँहरूको बहाना मात्रै हो । यदि त्यस्तो लागेको थियो भने उहाँहरूले प्रधानमन्त्री, अनि माओवादीका जिम्मेवार हामी नेताहरूसँग किन त्यसबारे सोधखोज गर्नुभएन ? किन सामान्य चर्चासम्म गर्नुभएन ? राष्ट्रिय सरकारको तयारीका लागि भारत भ्रमणपछि सोच बनाएको हो भनेर कुरा समेत भएन । रातारात, त्यो पनि मध्यरातमा केही मान्छे बसेर गठबन्धन तोड्ने, अनि बहाना र आरोप हामीलाई गर्ने ? सोह्रैआना गलत कुरा हो ।

बरु संविधान संशोधनको नाममा पश्चगमन र प्रतिगमनमा लैजाने कुरा गर्दै हुुनुहुन्छ उहाँहरू । सरकारको भ्रष्टाचार विरोधी कदम विरुद्ध उभिनुभयो उहाँहरू । जनताले पाइराखेका अधिकारहरूलाई पछि फर्काउने सोच देखिन थालेको छ उहाँहरूमा । भ्रष्टाचार र अनियमिततासँग सम्बन्धित फाइल खुल्ने भएपछि नयाँ गठबन्धनमा लागेको हो उहाँहरू ।

प्रधानमन्त्री असाध्यै अविश्वसनीय बन्नुभयो, कहिले कता, कहिले कता पल्टिराख्ने गर्नुभयो । त्यसैले उहाँबाट धोका पाएकाहरू नै अब मिलौं भनेर कांग्रेस–एमाले एकठाउँ उभिएको होइन ?

पछिल्लो चुनावले मिश्रित जनमत दियो । बहुमत कसैसँग थिएन । राष्ट्रिय राजनीतिको एउटा अग्रणी नेताका रूपमा कमरेड प्रचण्डले त्यस जनमत अनुसार सबैलाई व्यवस्थापन गर्न भूमिका खेल्नुभयो भन्दा फरक पर्दैन । त्यसैले होला एक साथीले फेसबुकमा लेख्नुभयो – प्रचण्डले कांग्रेसलाई धोका दिएर राष्ट्रपति, एमालेलाई धोका दिएर सभामुख, जसपालाई धोका दिएर उपराष्ट्रपति, रास्वपालाई उपसभामुख दिनुभयो । आ–आफ्नो जनमत अनुसार राष्ट्रका ठाउँहरूमा सन्तुलित गर्नुभयो । पहिलोदेखि पाँचौं दलसम्मलाई मिलाउनुभयो ।

यसो हेर्दा ती साथीले लेखेको कुरा सही पनि देखिन्छ । हेर्दा अस्थिर, तर सबैलाई व्यवस्थापन गर्न सक्ने नेता हो प्रचण्ड । अस्थिरताको आरोप लगाउनेहरूले बुझ्नुपर्ने कुरा के हो भने जनमत अनुसारको शक्तिहरूलाई सन्तुलन गर्ने, अनि त्यो सन्तुलनलाई राष्ट्र निर्माणमा लगाउनुभयो । समृद्धि, सुशासन, सामाजिक न्यायमा बल लगाउनुभयो ।

तर प्रचण्डले तेस्रो दलको नेता भएर आफूसँग म्याजिक नम्बर छ भन्दै पहिलो र दोस्रो दललाई पालैपालो बिच्क्याउनुभएको त हो नि, होइन ?

कुनै अभिव्यक्तिका कारण कसैमा सामान्य इरिटेसन व्यक्त पनि भयो होला, तर त्यति इरिटेसनको भरमा ठूला गल्ती गर्लान् कसैले ? त्यो मलाई लाग्दैन । विचार र राजनीतिका अगाडि मनोविज्ञान र इखको कुरा, अविश्वास भयो भनेर कतै हाम फाल्ने कुरा जिम्मेवार नेतालाई सुहाउने होइन । ओलीजी विचारमा स्पष्ट भएको भए वामहरूको राष्ट्रिय शक्ति निर्माण गर्ने, देशको समृद्धिका लागि मूल शक्ति बनाउने, यताउता भयो भनेर सम्झाउने, करेक्सन गर्नेमा लाग्नुपर्नेमा तपाईं डुंगाबाट हाम फाल्नुभन्दा पहिले म हाम फाल्छु भन्ने हो ? जिम्मेवार नेताले यो गर्न सुहाउँछ ?

एमाले माओवादी गठबन्धन भत्किने मूल कारण तपाईंले ल्याएको बजेट हो भन्ने पनि छ नि ?

त्यसो होइन । बजेट सन्तुलित छ । १६५ क्षेत्रमा कुनै न कुनै योजना छन् । म जनतामा आशा जागृत होस् भनेर ठूला योजनामा केन्द्रित भएँ । त्यसका लागि शीर्ष नेताहरूसँग आवश्यक परामर्श गरेको पनि थिएँ । अहिले ती आरोपहरू बहानाका रूपमा व्यक्त भएका छन् ।

एमाले र माओवादीबीच यति धेरै उतारचढाव भइसकेको हुनाले अब फेरि वाम गठबन्धनको दुःख गर्ने कि नगर्ने ?

एमालेमा पनि केन्द्र र प्रदेशका धेरै साथीहरूले हाम्रो नेताहरूले गल्ती गर्नुभयो भनिराख्नुभएको छ । आफ्नै नेता, कार्यकर्ताले चित्त दुखाउने अवस्था छ । भोलि पनि विचार मिल्नेहरूलाई नजिक ल्याउनुपर्छ भन्ने माओवादी केन्द्र र मेरो व्यक्तिगत धारणा छ । विचार मिल्नेहरू एकठाउँ आउनुपर्छ । तर त्यसो भन्दैमा त्यसबाहिर कुनै कार्यगत एकताहरू हुँदैनन् भन्ने छैन । कुनै बेला नेकपा बनाएर दुई तिहाइ नजिक बनाएको आन्दोलन विघटन हुने बाटोतर्फ अघि बढ्यो ।

दुई तिहाइ स्थानीय तहलाई व्यवस्थापन गर्न नसक्दा, ६ प्रदेश बचाउन नसक्दा जनतामा निराशा आएर नयाँ स्वतन्त्र शक्ति पनि देखा परे । तर देशको मूल शक्ति वामपन्थी नै हुन्, प्रगतिशील र परिवर्तनकारी उनीहरू नै हुन् । यो हामीले एकपटक फेरि पुष्टि गर्नु थियो । एमालेले विश्वासघात गरेको छ यसमा । जनताले दुःखमनाउ गरेको छ । वाम सहकार्यको छलफल चाहिं चलिराख्नुपर्छ । तत्काल चाहिं सम्भव छैन ।

तत्काल के सम्भव छ ? किनभने विश्वासको मत लिने दिन आउँदैछ । तपाईंहरू पनि चुप लागेर बस्न खोजे जस्तो लाग्दैन !

दुई ठूला दलका मुख्य नेताहरूले मिल्यौं भन्नुभएकाले मिल्नुभएकै होला । दस्तावेज सार्वजनिक भएको त छैन । संविधानको धारा ७६ (२) को सरकार हो । कसैले समर्थन फिर्ता लिंदा ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक अधिकार प्रयोग गर्छौं । विश्वासको मत पाउन नसकौंला, तर संसद्बाट बनेको प्रधानमन्त्रीले संसद्मा जवाफ दिने, अनि इतिहासमा वाम शक्तिहरू अलग भएको बेला आफ्नो पोजिसन राख्ने मौका पनि उपयोग गर्छौं ।

कोशी प्रदेश सभामा नजिर बसिसकेको धारा ७६ (२) हुँदाहुँदै उपधारा ३ अन्तर्गत ठूलो दलले सरकार बनाउनुपर्छ भन्ने तर्क माओवादीको हो ?

दुई र तीन दुवै प्रयोग भएको छ । अदालतले ७६ (२) को सम्भावना हुँदा प्रयोग गर्न मिल्छ, त्यसपछि ३ मा जान्छ भन्नेलाई पनि सही ठहर्‍याएको छ । संवैधानिक स्पिरिट हेर्छौं । किनभने विगतमा ओलीजीले ७६ (२) पछि ३, अनि ५ को प्रयोग गर्नुभएको नजिर पनि त छ । त्यसैले हाम्रो बुझाइ त के छ भने ७६ (३) मा जानुपर्ने सामान्य प्रक्रिया पनि हुन सक्छ ।

त्यस्तो अवस्था आउने सम्भावना छ र ?

हुन त नेपालको राजनीति र मौसम अनुमान गर्न सकिन्न भन्छन् । हामीले पनि पहिले एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा विश्वासको मत लिने बेलासम्म कांग्रेसले साथ दियो । असम्भव त केही छैन रहेछ । ७६ (३) तिर जाने अवस्थामा पुगियो भने ओलीजीले तपाईंहरूलाई नै साथ दिन आउनुहुन्छ भन्ने पनि छन् ।

नेपालको राजनीतिलाई मौसम जस्तै अनुमान गर्नै नसकिने बनाउने त तपाइँहरू नै हो । २८ गते त्यस्तै मोड आउन सक्छ भन्ने आशा हो ?

असम्भव कुरा के छ र ? किनभने कांग्रेसभित्रकै केही साथीहरूले भन्नुभयो– श्रीमान् र श्रीमतीले बालकोट गएर गरेको सम्झौता हो । सिंगै पार्टीले गरेको होइन ।

कांग्रेसको सभापति, संसदीय दलको नेता, अनि सांसदले एमाले अध्यक्ष केपी ओलीसँग गरेको सम्झौतालाई कांग्रेसको बैठक बसेर संस्थागत स्वरुप दिएको होइन र ?

भन्नेले त्यसो पनि भन्छन् । मैले यसलाई ठूलो बनाउन खोजेको भने होइन । पार्टीमा अरू कसैलाई पनि भन्न सकिन्थ्यो होला नि ! तर यसलाई त्यही रूपमा ठूलो विषय चाहिं म बनाउन चाहन्नँ । त्यसरी बोल्नुपर्‍यो भने बोल्ने समय आउला । अर्कोतिर ओलीजीले पनि देउवाजीलाई बालुवाटारमा कुराएर बालकोटमा प्रचण्डसँग मिलेको पनि हो ।

विश्वासकै कुरा हामीसँग गर्ने साथीहरूले यसो गरेको पनि उदाहरण छ नि होइन र ? त्यसैगरी प्रचण्डजीसँग गठबन्धन मजबुत बनाउने, सातै प्रदेशका गठबन्धन सरकार बलियो बनाउने, त्यसका लागि विज्ञ टोली बनाउने, चुनावमा गठबन्धन गरेर बहुमत ल्याउन लाग्ने, लगत्तै पार्टी एकता गर्ने, अहिले एकता नगर्ने, भाँड्छन् भनेर ओलीजीले राखेको होइन ?

अझ प्रधानमन्त्रीको छोरी गंगालाई बोलाएर ओलीजीले ‘ल, हामीले यस्तो निर्णय गरेका छौं, अब स्वर्ग वा नर्क जहाँ गए पनि सँगै जाने’ भनेर भन्ने ओलीजी होइन ? अनि बेलुकी चाहिं उता गएर हस्ताक्षर गर्ने ? अझ राति १० बजेसम्म आफ्नै दलका नेताहरूलाई बालकोट बोलाएर ल, भोलि मिडियालाई बोलाएर खण्डन गर्नु, हामी माओवादीसँगै छौं भन्ने, अझ मध्यरातमा उता गठबन्धन गरेको कसले हो ?

तपाईंले ओलीलाई प्रचण्डभन्दा अविश्वसनीय भन्न खोज्नुभएको ?

धेरै नै । केही कुरामा प्रचण्ड कमरेडमा अस्थिरता देखियो पनि होला, तर उहाँको कामको परिणाम चाहिं राष्ट्रिय शक्तिलाई मिलाउने, ठोस मुद्दामा काम गर्नेमा देखिन्छ । ओलीजीको चाहिं आफू केन्द्रित हुन्छ । अरू सबैलाई माइनस गर्ने, पार्टी भित्र, बाहिर सबैका फरक सोचलाई सिध्याउने खालको हुन्छ । अविश्वसनीय ओलीजी हो ।

माओवादी केन्द्र फेरि पनि कांग्रेस र एमालेलाई छुटाउने कोसिसमा लागेको हो ?

हामी विश्वासको मत लिने बेलासम्म बहुमत जुटाउने कोसिस गर्छौंं । नत्र विकल्पमा जान्छौं । राजनीतिमा धेरै खालका विकल्प हुन्छन् ।

त्यो कस्तो विकल्प हो ?

अहिलेलाई त प्रतिपक्षमा बस्छौं । अहिले जसरी एमालेका नेताहरूले संविधान संशोधनका नाममा पश्चगामी प्रस्ताव राख्दैछन्, त्यसको विरोध गर्छौं । संघीयता खारेजी लगायतका कुरा छन् उहाँहरूका । त्यसलाई रोक्ने विभिन्न प्रयासहरू गर्छौं ।

संशोधनको कुरा एकछिनमा गरौंला । तपाईंको प्राथमिकताकै कुरा गरौं । तपाईंहरू प्रतिपक्ष बन्न लाग्नुहुन्छ कि कांग्रेसलाई प्रधानमन्त्री अफर गरेर नयाँ सत्ता साझेदार बन्न फेरि लाग्नुहुन्छ ?

विश्वासको मत जुटेन भने त प्रतिपक्षमै जान्छौं ।

तपाईंलाई के लाग्छ ? ठूला दुई दल कांग्रेस र एमालेको सहकार्य चुनावसम्मै जाला ?

सामान्यतया जाँदैन । पूँजीवादी लोकतन्त्रमा ठूलो दल सत्तामा, दोस्रो दल विपक्षमा बस्ने सामान्य चलन हो । तर लोकतन्त्रमा संकट आयो भन्दै दुई दल मिलेर निरंकुशतामा जाने विगतहरू पनि छन् । उहाँहरू मिलेर संघीयता, समावेशिता लगायत संवैधानिक प्रबन्धमा प्रतिगमन गर्न खोज्दै हुनुहुन्छ । उहाँहरूको त्यो प्रवृत्ति दुनियाँभरिकै पश्चगमनको हावासँग पनि जोडिन्छ । अर्को कुरा, ठूला दल मिलेर सत्ता चलाउनुको अर्थ व्यवस्थामा ठूलो चुनौती आयो भन्ने हो । यो व्यवस्था सिध्याउन दुवै दल लाग्ने खतरा पनि हुन्छ । यो कुरा जनतामा भन्छौं ।

अर्को कुरा सरकारले सुरु गरेको सुुशासनको एजेन्डा गम्भीर छ । कतिपय विकृतिलाई राज्यबाट शुद्धीकरण थालिएको छ । तर पुराना विकृति छोप्ने, नयाँ विकृति ल्याउने उद्देश्यबाट नयाँ गठबन्धन बन्यो कि भन्ने छ । जनताले विकल्प खोज्न नथालुन् भन्न खोजेको जस्तो पनि देखिन्छ ।

तर, जनता चाहिं पहिलो र दोस्रो दल मिलेर निरंकुश बन्न खोजे भन्नुभन्दा पनि तेस्रो दलले दुई ठूला दललाई पालैपालो खेलाउन खोज्यो भन्ने धारणा पनि राख्छन् नि, के भन्नुहुन्छ ? यस्तो प्रवृत्ति दोहोरिरहँदा जनता व्यवस्थासँगै आजित नबन्लान् भन्ने के छ ?

अब हामीले भन्ने कुरा चाहिं, पहिलो र तेस्रो दल मिल्नु वा दोस्रो र तेस्रो मिल्नु स्वाभाविक हुन्छ भन्ने हो । किनभने कसैसँग बहुमत त छैन । बहुमत भएको भए कसैले यहाँ जानै पर्दैनथ्यो नि ! यस्तो अवस्थामा कांग्रेस र एमालेले हामीलाई विकल्पका रूपमा स्वीकारेका हुन् भन्ने दृष्टान्त पनि त हो नि !

उसो भए उहाँहरूले संविधान संशोधन भनेर जे चर्चा गर्दै हुनुहुन्छ, त्यसमा तपाईंहरूको अग्रिम आपत्ति हो ?

होइन, संविधान संशोधन हुन्छ, तर सकारात्मक रुपले । अहिलेका उपलब्धि बचाउँदै, नयाँ उपलब्धि ल्याउन, अनि जनतालाई अधिकारसम्पन्न बनाउन पो संशोधन गर्ने हो । तर राप्रपा जस्ता पुराना शक्तिले समर्थन गर्दै ल्याउन खोजेको प्रस्ताव अग्रगामी त होइन । हामीलाई त्यसकारण उपलब्धि सिध्याउन खोजिएको हो कि भन्ने आशंका छ ।

त्यस्तो संशोधन प्रस्ताव आएमा माओवादी विरोध गर्छ ?

यस्तो कन्टेन्ट राखेर संविधान संशोधनको सम्भावना छैन । संविधानलाई पछि धकेल्ने पश्चगामी प्रस्ताव संसद् भित्र, बाहिर दुवैतर्फ असफल हुन्छन् ।

अब तपाईंको पार्टीको भविष्यबारे कुरा गरौं । २०७०, २०७४ र २०७९ का चुनाव परिणाम हेर्दा तपाईंहरूको जनमत खस्केको खस्किएकै छ । पछिल्ला दुई चुनाव त गठबन्धनको बलमा लड्नुभयो । यी दुवै यथार्थका कारण पार्टी पंक्तिमा भविष्यलाई लिएर असुरक्षाभाव र छट्पटी पनि देखिन्छ । अब माओवादी के गर्छ ?

हाम्रो राजनीतिक लाइन स्पष्ट छ । हामी अहिलेको संवैधानिक उपलब्धि कार्यान्वयन गर्ने, देशलाई आर्थिक समृद्धि गर्ने एजेन्डामा लडिरहन्छौं । भ्रष्टाचार विरुद्धको संघर्ष, सुशासनका मुद्दामा काम गरिरहन्छौं । जनतालाई सचेत र अधिकारसम्पन्न गराउन संघीयतालाई कामकाजी बनाउने, प्रभावकारी समावेशिता, राज्यका संयन्त्रलाई लोकतन्त्रीकरण गर्ने, आजको युग सुहाउँदो गराउँदै नयाँ पुस्ताको भावना अनुसार आर्थिक, सामाजिक परिवर्तनको एजेन्डालाई नेतृत्व गरिरहन्छौं ।

हिजो जनयुद्धबाट स्थापित गरेको एजेन्डाहरू अझ दह्रोसँग जनतासम्म पुर्‍याउँछौं । समाजवादउन्मुख राज्यनिर्माणको कामलाई जनताले बुझ्ने गरी बुझाउन देशव्यापी संगठन निर्माण, प्रचार सबै गर्छौंं । वैकल्पिक शक्तिका रूपमा आवाज उठाइरहन्छौं । कांग्रेस, एमाले पुराना शक्ति, हामी नयाँ शक्तिका रूपमा आएका छौं भन्छौं । कमजोरी गरेका पनि हौंला, त्यो स्वीकार गर्दै जनताको बीचमा पुग्छौं ।

तपाईंलाई अझै पनि माओवादी धारको पुनरोदय नेपालमा सम्भव छ भन्ने आत्मविश्वास हो ?

सम्भव छ । किनभने एमालेलाई हामी वामशक्ति मानेका थियौं, तर उसले आफूलाई यथास्थितिवादी, दक्षिणपन्थी शक्तिका रूपमा प्रमाणित गर्दैछ । जबकि त्यहाँ वाम सोच र चिन्तन भएका लाखौं साथी, अनि समर्थक हुनुहुन्छ । तर नेतृत्वमा वाम सोच छैन ।

अबको चुनावमा तपाईंहरू गठबन्धन नै गर्ने कि एक्लै लड्ने ?

जस्तो अवस्था आए पनि एक्लै लड्ने । किनभने गठबन्धन गर्दा समर्थन खुम्चिंदो रहेछ । चुनाव भनेको केवल जित्न मात्रै होइन, आफ्ना विचार र राजनीतिलाई जनतामा सचेत गराउने माध्यमका रूपमा समेत पूराका पूरा उपयोग गर्ने हो ।

प्रचण्डको बारेमा चाहिं तपाईंको के भनाइ छ ? माओवादीको सफलता र असफलतामा प्रचण्ड जोडिनुहुन्छ । अरू दलमा पनि विकल्पको बहस तीव्र छ । अब तपाईंहरू प्रचण्डको विकल्प खोज्ने लाइनमा हो कि होइन ?

हामी प्रचण्डको विकल्प खोज्ने लाइनमा छैनौं । प्रचण्ड परिस्थितिको सही आकलन गर्ने, त्यस अनुरूप आफू र पार्टीलाई ढाल्न सक्ने गतिशील नेता हो । जनयुद्धमा देशलाई लैजान सक्ने, अनि जनयुद्धबाट आर्जित शक्तिलाई शान्ति र परिवर्तनका एजेन्डासँग जोड्न सक्ने नेता उहाँ नै हो । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, अनि गतिशीलता उहाँको क्षमता हो ।

हामी उहाँ र हामी समेतका कमी–कमजोरी सच्याउँदै उहाँकै नेतृत्वको पार्टीको शक्ति वृद्धि गर्दै जान्छौं । व्यक्तिको कुरा मात्रै होइन, हामी पार्टीलाई विधिमा लैजाने, सही उत्तराधिकारी बनाउने, अनि हजारौं काबिल कार्यकर्ता बनाउने कामलाई अघि बढाउँछौं ।

उसो भए, तपाइँहरू एमालेसँग मिल्ने, पार्टी एकता गर्ने प्राथमिकतामा अब होइन ?

हामी आफ्नो पार्टी बनाउँछौं, जनतामा जान्छौं । एमालेको मूल नेतृत्वमा वाम चिन्तन र संस्कार देखिएन । तर त्यहाँभित्रका धेरै साथीहरूसँग हामी सहकार्य गर्छौं । माओवादी भित्र पनि विभिन्न शक्ति छन्, पार्टी एकता, मोर्चासम्म जान्छौं ।

रवि लामिछानेको कुरा गरौं । उहाँलाई कतिले ओलीसँग निकट नेता भन्थे, तर अहिले प्रचण्ड अल्पमतमा पर्ने प्रष्ट देखिंदा पनि उहाँ साथ दिएर बसिराख्नुभएको छ । यसले भविष्यमा तपाईंहरूको सम्भावित सहकार्यको बारेमा कुनै संकेत गर्छ ?

नेपालमा सामन्ती राज्यव्यवस्था विरुद्धको वैकल्पिक धार हामीले स्थापित गर्‍यौं । कार्यान्वयन गर्दै जाँदा जनतामा देखिएको निराशा चिर्न रविजीहरू वैकल्पिक शक्ति भएर आइराख्नुभएको छ । माओवादी एउटा समयको परिवर्तनकारी शक्ति, अनि उहाँहरू अहिलेको समयमा परिवर्तनका लागि काम गरिराखेको शक्ति भएकाले हाम्रा कतिपय सोच मिल्छन् । सुशासन र समृद्धिको मामिलामा अहिलेको व्यवस्था अझ सुदृढ हुनुपर्छ भन्नेमा हामी एकठाउँ छौं ।

त्यस अर्थमा रविजी र रास्वपामा एक खालको राजनीतिक इमानदारी देखियो । किनभने उहाँले जे भन्नुभएको छ, त्यसमा अडिनुभएको छ । शक्तिको पछि दगुर्नुभएको छैन । रविजी गृहमन्त्री भएर आएपछि हिजोदेखि देखिएको विकृति, लुट, भ्रष्टाचार विरुद्ध उहाँ पनि लाग्नुभयो । उहाँ लाग्दा हिजोका शक्तिहरू आतंकित भए । उहाँले नै चालेका कदमका कारण प्रधानमन्त्रीकै कुर्सी पनि खतरामा पर्‍यो । तर उहाँ प्रधानमन्त्रीसँगै हुनुहुन्छ । यो रविजीको इमानदारी हो ।

अन्तिम प्रश्न अर्थतन्त्रबारे । जनतामा जे निराशा देखिएको थियो, तपाईंले बजेट मार्फत पनि आशा जगाउन सक्नुभएन भन्ने गुनासो व्यक्त छ नि ?

बजेटमा मैले आशा जगाएको छ । गण्डकी त्रिभुजको कुरा, सात प्रदेशको सेन्टर अफ एक्सिलेन्स, एक लाख रिटर्नीलाई पुनर्स्थापित गर्ने, एक लाख अन द जब तालिम, ठूला पूर्वाधार पूरा, आइटी दशक घोषणा, कृषि लगानीको दशक घोषणा जस्ता युवामा आशा जगाउने, जनतालाई पनि विश्वस्त गराउने योजना आएका छन् । म अर्थ मन्त्रालयमा आएपछि यहाँभित्रको बेथितिलाई विधिमा ल्याउने, प्रोफेसनलको टिम बनाउने आदि प्रयास भए ।

म सन्तुष्ट छु । बजेट ल्याउँदा अर्थमन्त्री विवादमा आइराख्थे । मैले सन्तुलित, पारदर्शी बजेट ल्याउन सबैसँग छलफल गरेको छु । सबैबाट समर्थन पाएको छु । चार महिनामै तेस्रो लगानी सम्मेलन गरें । दक्षिण एशियामै विश्व बैंकको सबैभन्दा ठूलो मिटिङ गरेको छु । मुख्य कुरा अर्थतन्त्र हो, आर्थिक क्षेत्र हो । यसलाई सही ट्रयाकमा राख्ने काम भएका छन् । अनलाईनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधन एउटा वा दुई दलहरूले मात्र गरेर हुने विषय होइन : अर्थमन्त्री, बिष्णु पौडेल (अन्तवार्ता)

कांग्रेस-एमाले सहमति भोलि जस्ताको तस्तै बाहिर आउँछ : प्रधानमन्त्रीका मुख्य सल्लाहकार, बिष्णु रिमाल (अन्तवार्ता)

प्रतिनिधिसभालाई पूर्ण समानुपातिक, बाहिरका विज्ञबाट मन्त्री बनाऔँ : पूर्वप्रधानमन्त्री, डा. बाबुराम भट्टराई (अन्तवार्ता)

सरकारले विश्वासको मत लिन सकेन भने राष्ट्रपतिले धारा ७६ (३) बमोजिम ठुलो दलको सरकार गठनका लागि आह्वान गर्नुपर्छ : डा. चन्द्रकान्त ज्ञवाली (अन्तवार्ता)

प्रधानमन्त्रीले राजीनामा नदिए उपायहरू धेरै छन् : एमाले उपमहासचिव, प्रदीप ज्ञवाली (अन्तवार्ता)

नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह (अन्तवार्ता)

समय आउँछ, मदन-आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली (अन्तवार्ता)

बजेटको प्रक्रिया पूरा नगरी मन्त्रीका खल्तीबाट हजारौं आयोजना वितरण भएका छन् : पूर्वमहालेखापरिक्षक, टंकमणि शर्मा (अन्तवार्ता)

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

न्यायालयको साख गिर्दोछ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ (अन्तर्वार्ता)

अतिरिक्त लाभ प्राप्त गरेपछि मात्र काम गर्ने कर्मचारी प्रशासन बलशाली छ : सांसद, लेखनाथ दाहाल (अन्तवार्ता)

अर्थतन्त्रको विषम जटिल चुनौतीबिच सरकार ठिकै ढङ्गबाट अघि बढिरहेको छ : पूर्वसभामुख, अग्नी सापकोटा (अन्तवार्ता)