काठमाण्डौः राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले युनाइटेड पोष्ट साप्ताहिक पत्रिकाको प्रकाशित खबरले मानहानी भएको भन्दै काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गरेकी छन् ।
यूनाइटेड पोष्ट साप्ताहिकले प्रकाशित गरेको नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र सांसद दुर्गा पौडेल समेतले भारतीय राजदुतसँग दुईघण्टा गोप्य वार्ता गरेको र सांसद दुर्गा पौडेललाई ओली सरकारको मन्त्रीमण्डलमा मन्त्री बनाउन मद्दत गर्न राजदुतसँग अनुरोध गरेको समाचार पूरै नै निराधार र कपोलकल्पित भएको भन्दै कारवाहीको माग गरेकी हुन् ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता एवं सांसद दुर्गा पौडेलले बिहिबार जारी गरेको तथा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार जारी गरेको विज्ञप्तीको पूर्णपाठः
राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय
वक्तव्य
यूनाइटेड पोष्ट साप्ताहिकले नेकपा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह र म समेतले भारतीय राजदुतसँग दुईघण्टा गोप्य वार्ता गरेको र मलाई केपी शर्मा ओलीको मन्त्रीमण्डलमा मन्त्री बनाउन मद्दत गर्न उहाँले राजदुतसँग अनुरोध गरेको भन्ने झुट्ठा र निराधार समाचारबारे कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेतबारे मैले आज काठमाडौँ जिल्ला अदालतमा उजुरी दर्ता गराएकी छु ।
उक्त विषयमा मैले पहिले प्रेस काउन्सीलमा पनि आवश्यक कारवाहीको माग गरेर निवेदन दिएकी थिए । प्रेस काउन्सीलले उक्त विषयमा यूनाइटेड पोष्ट र रिपब्लिका समेतलाई स्पष्टिकरण मागेर पठाएको थियो । रिपब्लिकाले उक्त समाचार त्यसले यूनाइटेड पोष्टद्वारा साभार गरेको र भाषा वा शैलीमा केही कमजोरी भएको भए क्षमा प्रार्थी छु भनेर मन्तव्य प्रकाशित गरेको थियो । तर त्यो समाचार झुठो नै थियो भन्ने कुरा त्यसले स्वीकार गरेको थिएन । त्यसको जबाफ वा स्पष्टिकरण सन्तोषजनक नभएपनि त्यसले त्यो समाचार साभार गरेको हुनाले त्यसका विरुद्ध मुद्दा दिनुपर्ने आवश्यकता देखिएन ।
यूनाइटेड पोष्टले उक्त विषयमा मैले पठाएको खण्डन प्रकाशित गर्यो । तर त्यो समाचार झुट्ठा नै थियो भनेर त्यसले स्वीकार गरेन र त्यसले क्षमा पनि मागेन । त्यसकारण त्यसका विरुद्ध मुद्दा हाल्नुपर्ने आवश्यक ठानेर आज मैले काठमाडौँ जिल्ला अदालतमा त्यसबारे मुद्दा दर्ता गराएकी छु ।
यूनाइटेड पोष्टले प्रकाशित गरेको हामीले राजदुतसँग गोप्य वार्ता गरेको समाचार पूरै नै निराधार र कपोलकल्पित हो । त्यसबाट का. मोहनविक्रम सिंह र मेरो समेत गम्भीर प्रकारले मानहानी हुन गएको छ । वास्तवमा हामीहरू एउटा विवाह पार्टीमा सामेल हुनका लागि पाटनको एउटा पार्टी प्यालेसमा गएका थियौँ । त्यहाँ हजार जति मानिसहरूको उपस्थिति थियो । त्यस्तो विवाह पार्टीमा गोप्य वार्ता हुनु सम्भव पनि थिएन र भएको पनि थिएन । हामीहरू भर्याङ्गतिर जान लागेको बेलामा राजदुतसँग देखादेख भएको थियो । तर कुनै कुराकानी वा परस्परमा परिचय गर्ने काम पनि भएको थिएन । त्यस सिलसिलामा युनाइटेड पोष्टले प्रकाशित गरेको फोटोमा नजिकै उभिएर वार्ता गरेजस्तो देखाइएको छ । तर त्यसरी हामी एक अर्कोको नजिक भएको वा वार्ता समेत भएको थिएन । त्यसरी त्यो फोटो पनि भ्रम पैदा गर्ने प्रकारले प्रकाशित गरिएको छ । तर, मुख्य विषय त्यो फोटाको होइन, मुख्य विषय हामी र राजदुतका बीचमा गोप्य वार्ता भयो कि भएन भन्ने हो ? त्यसबारे युनाइटेड पोष्टले निकालेको समाचार पूरै नै कपोलकल्पित भएको कुरा मैले पहिले पनि आफ्नो खण्डनमा स्पष्ट गरिसकेकी छु र आज अदालतमा दिएको उजुरीमा पनि त्यो कुरा उल्लेख गरेकी छु ।
पत्रपत्रिकाको स्वतन्त्रताप्रति हाम्रो पार्टीले सधैँ आवाज उठाउँदै आएको छ । तर त्यस प्रकारको पीत पत्रकारिता अत्यन्तै दुःखद र निन्दनिय कार्य हो । मैले प्रेस जगतसित त्यस प्रकारको पीत पत्रकारितामाथि नियन्त्रण गर्न विशेष ध्यान दिन अनुरोध गर्नुका साथै काठमाडौँ जिल्ला अदालतबाट पनि उक्त विषयमा न्यायोचित फैसला हुनेछ भन्ने आशा गरेकी छु ।
मितिः २०७६ असोज ९ गते
दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद
नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
कतिपय सञ्चार माध्यमहरूमा का. चित्रबहादुर के.सी.बारे प्रकाशित व्यक्तिगत समाचार तथा टिकाटिप्पणी प्रति ने.क.पा.(मसाल)को ध्यान आकर्षित भएको छ । उक्त विषयमा ने.क.पा.(मसाल)को दृष्टिकोण स्पष्ट गर्नका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
का. के.सी.को व्यक्तिगत जीवनबारे जुन आक्षेप लगाइएको छ, त्यो अराजनीतिक र व्यक्तिगत विषयसित सम्बन्धित छ । उक्त विषयमा गृहमन्त्रालयको निर्देशनमा बाग्लुङको जिल्ला प्रशासन कार्यालयले छानवीन समिति बनाएको कुरा पनि थाहा भएको छ । त्यसबारे उक्त छानवीन समितिले के निष्कर्ष ल्याउने छ र छानवीन समितिको निष्कर्ष कहाँसम्म तथ्यपरक हुनेछ ? त्यो अगाडि आएपछि नै हामीले त्यसबारे आफ्नो मत प्रकट गर्नु राम्रो हुनेछ । त्यो कुरा जे भएपनि व्यक्तिगत विषयसित सम्बन्धित उक्त आक्षेपले उहाँको राजनीतिक चरित्र र नैतिकतामा कुनै आँच नपुर्याउने कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।
नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलनमा का. के.सी.को अत्यन्त उज्ज्वल चरित्र रहेको छ । पञ्चायती तानाशाही कालदेखि नै देशमा चल्दै आएका सबै जनतान्त्रिक र वामपन्थी सङ्घर्षहरूमा उहाँको लामो, महत्वपूर्ण, सक्रिय र जुझारू भूमिका रहँदै आएको छ । नेपालमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतका पक्षमा वा सङ्घीयताका विरुद्ध तथा जनजीवनसित सम्बन्धित विभिन्न प्रश्नहरूमा उहाँको महत्वपूर्ण योगदान रहँदै आएको छ । संसदमा र सरकारमा गएको बेलामा कैयौँ नेताहरूको राजनीतिक पतन हुने गरेका थुप्रै उदाहरणहरू हाम्रा अगाडि छन् । त्यो अवस्थामा पनि उहाँले आफ्नो निष्कलङ्क चरित्रको प्रदर्शन गर्नुभयो र देशको राजनीतिमा उहाँले आदर्श छवि स्थापित गर्नुभयो । त्यस प्रकारको पृष्ठभूमिमा उहाँका विरुद्ध प्रचार गरिने कुनै व्यक्तिगत आक्षेपले उहाँको राजनीतिक चरित्र र नैतिकतामा आँच पुर्याउन नसक्ने कुरा प्रष्ट छ ।
नेपालको राजनीतिमा वा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि व्यक्तिगत आक्षेपहरू लगाएर चरित्र हत्या गर्ने कार्य लामो समयदेखि हुँदै आएको छ । कसैका विरुद्ध राजनीतिक रूपले सङ्घर्ष गर्न नसकेपछि व्यक्तिगत कुराहरू उठाएर वा चरित्रहत्या गर्ने तरिकालाई लेनिनले सिद्धान्तहीन र अराजनीतिक तरिका बताएका छन् । त्यस प्रकारको अभ्यास नेपालको वामपन्थी आन्दोलनमा पनि बारम्बार गरिंदै आएको छ । त्यो सिद्धान्तहीन र अराजनीतिक तरिका अहिले का. के.सी.का सन्दर्भमा पनि देखा परेको छ । हामीले त्यस प्रकारको प्रयासलाई कडा शब्दमा भत्र्सना गर्दछौँ ।
देशी वा विदेशी प्रतिक्रियावादी शक्तिका विरुद्ध का. के.सी.ले लगातार सम्झौताहीन प्रकारले विरोध वा भण्डाफोर गर्ने नीति अपनाउँदै आएकाले उनीहरू उहाँका विरुद्ध अत्यन्त असन्तुष्ट र क्षुब्ध भएको कुनै लुकेको कुरा होइन ।
सङ्घीयताको लगातार र कडा विरोध गर्ने गरेको हुनाले उहाँको हत्या गर्ने धम्की समेत दिइएको र प्रतिक्रियावादीहरूले उहाँलाई उपप्रधानमन्त्रीबाट वर्खास्त गर्न संसदमा आवाज उठाएको कुरा पनि आम रूपमा थाहा भएको कुरा हो । तत्कालीन भारतीय विस्तारवाद, जो अब साम्राज्यवादमा परिणत भएको छ, को चर्को विरोध गरेको हुनाले त्यसले पनि का. के.सी.का विरुद्ध सार्वजनिक रूपले नै अभियान चलाएको थियो । त्यस प्रकारका सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूले अहिले का. के.सी.को चरित्रहत्या गरेर उहाँलाई राजनीतिक रूपले नै समाप्त गर्न प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन । तर व्यक्तिगत मुद्दालाई उठाएर उहाँको चरित्रहत्या गर्ने प्रयत्न गरेपनि उहाँले पहिले जस्तै र पहिलेभन्दा प्रभावशाली प्रकारले आफ्नो राजनीतिक भूमिकालाई अगाडि बढाइरहनु हुनेछ र त्यसका लागि उहाँ सफल हुनु हुनेछ भन्ने हामीले विश्वास प्रकट गर्दछौँ ।
२०७६ असोज १० गते
मोहनविक्रम सिंह
महामन्त्री