काठमाण्डौंः जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा लिला सिटौलालाई सांसद बनाएको छ।
निर्वाचन आयोगले सिटौलालाई जनता समाजवादी पार्टीको सिफारिसमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो। गिरीले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै जनता समाजवादी पार्टीले पार्टीबाट निष्काशन गरेको थियो।
उनको सांसद पद पनि खारेज भएको थियो। रिक्त रहेको उनको ठाउँमा समानुपातिक तर्फ खसआर्य समूहबाट सिटौलालाई सांसद बनाउन जनता समाजवादी पार्टीले सिफारिस गरेको थियो।
त्यसका विरुद्ध गिरी सर्वोच्च अदालत पुगेकी थिइन्। सोमबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि आज उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा गरिएको हो।
सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
