काठमाण्डौंः संसदको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयमै नहुनुको कारण एक साताभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको सिंहदरबार स्थित ससद सचिवालयमा शुक्रबार बसेको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न नहुनुको कारण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।
उक्त समितिकी सभापति कल्याणीकुमारी खड्काको अध्यक्षतामा सम्पन्न बैठकका निर्णय सुनाउँदै उनले टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइएको कारण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन् । टेलिकमको सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकका अपेक्षाअनुरुप सेवा विस्तारको कार्ययोजनासमेत ३० दिनभित्र समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइएको छ ।
नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटीमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै नेपाल दूरसञ्चारसँग आबद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाहरुबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण एक हप्ताभित्र उपलब्ध गराउनसमेत मन्त्रालय र दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ । त्यसका साथै नेपालमा सञ्चालित दूरसञ्चार संस्थाहरुको आर्थिक अवस्थाबारे जानकारी गराउन भनेको छ ।
