काठमाण्डौः संघीय संसद सचिवालयले राष्ट्रिय सभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया शुरु गरेको छ। राष्ट्रिय सभाको नियमावली बमोजिम सभापति र समिति सदस्यहरूको पदावधि दुई वर्षमा सकिने व्यवस्था रहेकाले नयाँ प्रक्रिया शुरु भएको हो।
आजै संघीय संसद सचिवालयले १६ साउन (हिजो) मा सबै समितिका सदस्यहरूको पदावधि सकिएकाले सूचना निकालेर सभापति चयनको प्रक्रिया शुरु र समिति सदस्य प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएको छ।
सदन अधिवेशन सुचारु भएको बेला सदनबाटै हुने यो काम सदन नचलेको र कानून बमोजिम समिति सदस्य एवं सभापतिहरूको पदावधि समाप्त भएकाले प्रक्रिया शुरु गर्न लागिएको हो।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३३ को अधिकार प्रयोग गरी कार्यव्यवस्था परामर्श समितिको परामर्श राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समिति सदस्यहरूको नामावली पनि आजै हेरेफेर गरी चारवटा समितिका सदस्यहरूको नामावली सार्वजनिक गरेका छन्। अब त्यही समिति सदस्यहरूले सभापति चयन गर्नेछन्।
अध्यक्ष तिमिल्सिनले नियमावली बमोजिम दलहरूबाट प्राप्त नामको आधारमा सदस्यहरू छुट्टयाएको सूचनामा उल्लेख छ।


