
काठमाण्डौः ओम अस्पताल चाबहिलमा कार्यरत प्रा.डा. भोलाराज जोशीमाथि बिरामीका आफन्तले लापरवाहीको आरोप लगाएर गरेको प्रदर्शन तथा आक्रमणको विभिन्न संस्थामा आवद्ध चिकित्सकहरुले बिज्ञप्ती मार्फत खण्डन गरेका छन् ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै गत असोज ४ गते चाबहिल स्थित ओम अस्पतालमा चिकित्सकलाइ कार्वाहीको माग गर्दै बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।
गत साता ओम अस्पतालमा डा. जोशीको नेतृत्वमा पित्तथैलीमा रहेको पत्थरी शल्यक्रिया गरेर निकाल्ने क्रममा धादिङ गंगाजमुना गाउँपालिकाकी २९ बर्षिया अनिता गुरुङको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि अस्पताल र शल्यक्रियामा संलग्न रहेका चिकित्सक र अस्पतालमाथि लापरवाहीको आरोप लगाउँदै मृतकका आफन्त र परिवारजनहरूले बिरोध प्रदर्शन गरेका थिए ।
मृतकका आफन्तले सोही बिषयमा यूट्युब मार्फत लिएको डा. जोशीको अन्तर्वातालाई विभिन्न सञ्चार माध्यममा भाइरल गरिदिएपछि चिकित्सकहरुको संस्था सल्य चिकित्सक समाजका महासचिव डा. प्रनिल राईले असोज १२ गते र नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले असोज १३ गते एक पछि अर्को गर्दै विज्ञप्ती जारी गरेका हुन् ।
अस्पतालले उक्त घटनापछि मृतकको परिवारलाई २० लाख स्वरूप क्षतिपूर्ती रकम दिएर केश सुल्ट्याएपनि चिकित्सकले फेरी पनि उक्त घटना घट्न सक्ने भन्दै घटना भएको आठौ र नवौँ दिन विभिन्न संस्थाले विज्ञप्ती जारी गरेका हुन् ।
आईतबार र सोमबार जारी गरीएको विज्ञप्तीमा भनिएको छ, “उपचारको क्रममा कुनै दुर्घटना भएमा सो विषयलाई छानविन नगरी कानुनी प्रक्रियामा नगई डाक्टर र स्वास्थ्यकर्मीहरुमाथि हुलहुज्जत हातपात र अस्पताल तोडफोड गर्ने र फिरौती शैलीमा तर्साएर पैसा लिने प्रक्रिया बढेको” भन्दै असन्तुष्टी जनाएका हुन् ।
उनीहरुले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिना धरौटी कारवाही (जेल वीदआउट वेल ) तत्काल कानुन बनाएर लागु गर्न माग समेत गरेका छन् ।
यसरी विज्ञप्ती जारी गरी विरोध जनाउनेहरुमा सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, युवा चिकित्सक संघ नेपाल, नेपाल दन्त चिकित्सक संघ, स्वतन्त्र विद्यार्थी युनियन महाराज क्याम्पस एकाई, रेजिडेन्ट एशोसिएसन अफ न्याम्स, जुनियर रेजिडेन्ट डक्टर्स वेलफेयर सोसाइटी, विपिकेएचएस, डक्टर्स सोसाइटी अफ नेपाल रहेका छन् ।