सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उपसभामुखविरुद्ध आचरणको प्रस्ताव अगाडि नबढाउने कांग्रेसमा समझदारी

२०८२ भाद्र १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

आन्तरिक असहमति र उपनिर्वाचनको डरले कांग्रेस एक कदम पछाडि

उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउने गृहकार्यबाट प्रमुख सत्तारूढ कांग्रेस पछि हटेको छ । पार्टीभित्रकै विरोध, रूपन्देही– ३ को उपनिर्वाचन र सरकारविरोधी असन्तुष्टि चर्किएको भन्दै कांग्रेस शीर्ष नेताहरू प्रस्ताव ‘स्थगन’ गर्ने निष्कर्षमा पुगेका हुन् ।

सोमबार सभापति शेरबहादुर देउवानिवासमा बसेको संसदीय दल कार्यसमिति बैठकमा उपसभामुख रानाविरुद्ध प्रस्ताव अगाडि नबढाउने समझदारी भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । ‘उपसभामुखको विषयमा अहिले केही पनि प्रक्रिया अगाडि बढ्दैन । अहिले आचरणसम्बन्धी केही पनि हुँदैन,’ उनले भने, ‘बैठकमा सामान्य छलफल गर्‍यौँ र अहिले केही पनि नगर्ने भनेर स्पष्ट पार्‍यौँ ।’

स्रोतका अनुसार बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध आचरणको प्रस्ताव अगाडि बढाउन अहिले उपयुक्त समय नभएको बताएका थिए । यस्तो कदम चाले त्यसले रूपन्देही– ३ को उपनिर्वाचनमा प्रभाव पार्ने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा रूपन्देहीबाट फर्केका महामन्त्री शर्माले चुनावी परिवेशको ब्रिफिङ गरेका थिए । शर्मा उपनिर्वाचनमा पार्टीको अवस्था बुझ्न भन्दै रूपन्देही–३ गएका थिए । प्रमुख सचेतक घिमिरेले बैठकमा रूपन्देही– ३ को उनिर्वाचनबारे छलफल भएको, तर केही निर्णय नभएको बताए ।

रानाविरुद्ध पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउन केही दिनअघि कांग्रेस–एमालेबिच सहमति भएको थियो । त्यसैअनुसार दुवै पार्टीले आफ्ना सांसदको खाली कागजमा हस्ताक्षर संकलन थालेका थिए । तर, कांग्रेस महामन्त्रीद्वय शर्मा र थापाले हस्ताक्षर गरेका थिएनन् । इतर समूहका नेता डा. शेखर कोइरालाले भने हस्ताक्षर अभियानमै असहमति जनाएका थिए । दुवै महामन्त्रीले उपसभामुखविरुद्धको प्रस्तावमा सार्वजनिक रूपमै पनि असहमति जनाएका छन् ।

यसैबिच सभापति देउवा र कोइरालाले केही दिन अगाडि वान टु वान छलफल गरेका छन् । कांग्रेस–एमालेले ३ भदौमा उपसभामुख रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गरेपछि सुरुमा डा. कोइरालाले विरोध गरेका थिए । त्यसपछि सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा पनि उनी गएका थिएनन् । ६ भदौमा देउवाले बोलाएपछि कोइराला बुढानीलकण्ठ पुगेका थिए ।

देउवा र कोइरालाबिच एक घण्टा वान टु वान कुरा भएको, तर के विषयमा भयो भनेर जानकारी नभएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए । देउवा भेटेपछि कोइरालाले ८ भदौमा आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट नेता र सांसदहरूलाई ब्रिफिङ गरेका थिए । ब्रिफिङमा सहभागी एक सांसदका अनुसार कोइरालाले देउवालाई अहिले उपसभामुखविरुद्ध प्रस्ताव ल्याउने र हटाउने उपयुक्त समय नभएको जवाफ दिएका थिए ।

देउवाले उपसभामुखविरुद्ध हस्ताक्षर गराउँदा किन असन्तुष्टि भनेर सोधेपछि कोइरालाले रूपन्देही– ३ मा हुन लागेको उपनिर्वाचन, सरकारका कामकारबाहीप्रति नागरिकको असन्तुष्टिलगायत विषयहरू देखाएर समय उपयुक्त नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । यसअघि विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ हटाएको, कान्छाराम तामाङलाई विधिविपरीत मन्त्रीबाट बर्खास्त गरेको, बागमती प्रदेशमा बहादुरसिंह लामालाई मुख्यमन्त्रीबाट हटाएको घटनाले जनजातिहरूमाझ कांग्रेसको छवि कस्तो बनेको छ भनेर ख्याल गर्न सुझाव दिँदै कोइरालाले अब उपसभामुख रानालाई हटाउँदा व्यहोर्नुपर्ने क्षतिको हेक्का राख्न भनेका थिए ।

‘चुनावभन्दा अगाडि उपसभामुखलाई हटाउन खोज्दा परिस्थिति के होला ? कुलमान हटाएपछि जनजाति समुदायले कसरी हेरेको छ भन्ने ख्याल गर्नुस्,’ कोइरालाले देउवालाई भनेका थिए । देउवाले पदाधिकारीसँग सल्लाह गर्छु भनेर जवाफ दिएको ती सांसदले बताए । ‘शेखरदाले यो (उपसभामुखविरुद्ध प्रस्ताव) चाहनुभएको छैन । अब सिधै नो गर्दा मान्छे भड्किन्छन् । त्यसैले घुमाएर उपयुक्त समय होइन । सन्दर्भ ठिक होइन भनिरहनुभएको छ,’ ती सांसदले नयाँ पत्रिकासँग भने । नया  पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल