काठमाडौँ, १९ भदौ —संस्कृति इन्टरनेसनल स्कुलले अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०२५ को अवसरमा ‘डिजिटल युगमा साक्षरता प्रवर्द्धन’ भन्ने नाराका साथ विविध कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व सिग्देलले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गरेका सो अन्तरक्रियात्मक कार्यक्रममा विद्यालयले साक्षरता सप्ताहकै नियमित कार्यक्रमअन्तर्गत आयोजना गरेको ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनको उत्साहजनक सहभागिता रहेको थियो । विद्यालय निर्देशक दिप्ती आचार्य, प्रधानाध्यापक तिमिला श्रेष्ठ, सह–प्रधानाध्यापक अमित मन्त्रीलगायत विद्यालय प्रशासनका प्रतिनिधि र विद्यार्थीहरूको विशेष उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम सत्र सञ्चालन गरिएको थियो ।
विशेष वक्ताका रूपमा सञ्चारकर्मी तथा साहित्यकार दीपक समिर, कवि शकुन्तला जोशी र पुस्तक व्यवसायी तथा प्रकाशक सुदेश डोटेलले आ–आफ्ना विचार राखेका थिए । उनीहरूले पठन संस्कृतिको महत्त्व, डिजिटल युगमा साक्षरता विस्तारका अवसर र चुनौतीबारे गहन विश्लेषण गर्दै विद्यार्थीहरूसँग अनुभव बाँडे ।
