
काठमाण्डौं : बेलायतमा भएको अभ्यास क्याम्ब्रियन पट्रोल २०१९ मा नेपाली सेनाले स्वर्णपदक जितेको छ ।
संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २४ गतेबाट सञ्चालन भएको सैन्य अभ्यास प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाली सेनाको तर्फबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली ६ असोजमा बेलायत प्रस्थान गरेको थियो।
नेपाली सेनामा विश्वस्तरीय सैन्य अभ्यास कठिन भौगोलिक इलाकामा सञ्चालन हुने गर्दछ । अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्यांकन विशेष रुपमा गरिन्छ।
सोहि अभ्यासमा बेलायती फौजबाट १०६ र अन्य ३४ मुलुकका जम्मा १४० सैन्य टोलीको सहभागिता रहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
नेपाली सेनाको श्री विशेष फौज बाहिनी, पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मको टोलीले अभ्यासमा सहभागीता जनाएको थियो।
नेपाली सेनाबाट पेशागत प्रतियोगिताको मर्यादा क्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति त्यस किसिमका अभ्यासमा सहभागी हुन पाँउछन् ।
बेलायतले सन् १९६० बाट अन्तर्राष्ट्रियस्तरको अभ्यास प्रतियोगितामा सञ्चालन गर्दै आएको छ । नेपाली सेनाले सन् २०१४ बाट उक्त प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ ।