काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएको १५ दिन पूरा भएको छ । चैत १३ गते बालेन नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनलगत्तै बालेन सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्रता दिएको छ । सम्पत्ति शुद्धीकरणकै मुद्दामा अनुसन्धान गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पुर्जी जारी गरेको छ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानका क्रममा हाल प्रहरी हिरासतमा रहनुभएको छ । यस्तै, बिचौलिया दीपक भट्टलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरेर छानविन भइरहेको छ ।
यीबाहेक अन्य व्यक्तिहरूमाथि पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ । सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दामा धमाधम अनुसन्धान गरिरहेको दाबी गरिरहँदा स्वयं प्रधानमन्त्री शाहसहित मन्त्रीहरूले भने अझै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकार गठन भएको दुई साता बितिसक्दा पनि आफैँले जारी गरेको चुनावी बाचापत्रअनुसार रास्वपाका सांसद तथा मन्त्रिपरिषद्का कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
रास्वपाको चुनावी बाचापत्रको १६ नम्बर बुँदामा ‘सार्वजनिक पद सम्हाल्नुअघि सम्पूर्ण रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने’ लेखिएको छ । रास्वपाको सय बुँदे चुनावी बाचापत्रको १६ नम्बरमा भनिएको छ, ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्णरूपमा सार्वजनिक गर्नेछौँ । निर्वाचनअघि र कार्यकाल पूरा भएपछि हामी र हाम्रो परिवारको सम्पत्तिमा कति परिवर्तन आयो त्यसको स्वतन्त्र लेखापरीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्नेछौँ ।’ निर्वाचनअघि रास्वपाले सार्वजनिक पद सम्हाल्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने बाचा गरेको थियो । तर, बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्का अधिकांश सदस्यले अहिलेसम्म उक्त बाचा पालना नगरेको भन्दै आलोचना हुन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार अहिलेसम्म अर्थमन्त्री स्वर्णिम वाग्लेले मात्र सम्पत्ति विवरण बुझाउनुभएको छ । यति मात्र होइन निर्वाचनअघि र कार्यकाल पूरा भएपछि पनि परिवारसहितको सम्पत्तिमा के कति परिवर्तन भयो, त्यसको स्वतन्त्र लेखापरीक्षण गराएर जनतासमक्ष सार्वजनिक गर्ने रास्वपाका नेताहरूले वाचा गरेका थिए ।
फागुन २१ मा भएको निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक सिट ल्याएर वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्नुभएको थियो । निर्वाचन सम्पन्न भएको एक महिनाभन्दा बढी भइसकेको छ । तर, रास्वपाबाट निर्वाचित १८२ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूले पूर्व–प्रतिबद्धताअनुसार कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । २१ फागुनको निर्वाचनपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्पत्ति छानविनको विषय उठाउनुभएको थियो । उहाँले त्यसको सुरुवात बहालवाला मन्त्री र सांसदहरूबाटै गर्न अनुरोध गर्नुभएको थियो । अहिले पार्टीको बाचाअनरूप मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरे पनि यसअघि सरकारमा जाँदा भने विवरण बुझाएका थिए । २१ फागुन २०८० मा पुनर्गठित मन्त्रिपरिषद्मा सहभागी हुँदा रास्वपाका सबै मन्त्रीले सम्पत्ति विवरण पेस गरेका थिए । प्रचलित कानुन अनुसारको समय बाँकी रहे पनि रास्वपाले आफ्नै बाचापत्रलाई अहिलेसम्म कार्यान्वयन गरेको देखिएको छैन । हिमालय टाइम्स
