रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार नेतृत्व परिवर्तनको तयारी भइरहेका बेला राजु खनाल माथि आफ्नै दलका उम्मेदवारविरुद्ध अन्तरघात गरेको गम्भीर आरोप लागेको छ। फागुन २१ गतेको निर्वाचनसँग जोडिएको यो विषयमा पार्टी केन्द्रले खनालसँग ५ दिने स्पष्टिकरण मागेको छ। उनीसँगै प्रदेशका मन्त्री प्रचण्ड विक्रम न्यौपाने लाई पनि सोही प्रकृतिको स्पष्टीकरण सोधिएको छ।
एमाले–कांग्रेसबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमतिअनुसार अब कांग्रेसको पालो आउँदा खनालले दलका नेता डिल्लीबहादुर चौधरी लाई हटाएर आफू मुख्यमन्त्री बन्ने तयारी गरिरहेका थिए। तर निर्वाचनमा दाङ क्षेत्र नं २ का उम्मेदवार किरणकिशोर घिमिरे पराजित भएपछि खनाल र न्यौपानेमाथि असहयोग गरेको आरोप लागेको हो। उक्त प्रतिवेदनकै आधारमा केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।
आरोपबारे खनालले भने कुनै सत्यता नभएको दाबी गर्दै आफूविरुद्ध ‘प्रोपोगाण्डा’ फैलाइएको बताएका छन्। उनले सरकार नेतृत्वको तयारी रोक्न नियोजित रूपमा विषय उठाइएको आरोप लगाएका छन्। यस्तै, न्यौपानेले पनि उम्मेदवारकै कमजोरीका कारण हार भएको जिकिर गर्दै आफूहरूमाथि लगाइएको आरोपलाई प्रतिशोधपूर्ण भनेका छन्।
यो घटनाले लुम्बिनी प्रदेश कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्काएको छ। दल नेता परिवर्तनको कसरत भइरहेका बेला दुई प्रभावशाली नेतामाथि कारबाही प्रक्रिया अघि बढ्दा सरकार गठन र नेतृत्व हस्तान्तरणको प्रक्रिया अझ जटिल बन्ने देखिएको छ।

