सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

याङ्गुन, वैशाख १७ गते । म्यान्माको सैन्य नेतृत्वले सबै कैदीको सजाय एक-छैटौँले घटाउने निर्णय गरेसँगै अपदस्थ नेता आङ सान सुकीको नजर बन्द अवधि पनि छोटिन सक्ने सङ्केत देखिएको छ । बिहीबार घोषणा गरिएको यो सामूहिक सजाय कटौतीले देशको राजनीतिक अवस्थामाथि नयाँ बहस सिर्जना गरेको छ ।

राष्ट्रपति बनेका सैन्य प्रमुख मिन आङ ह्लाइङको कार्यालयले सार्वजनिक बिदाको अवसरमा कैदीको बाँकी सजाय एक-छैटौँले घटाइने जनाएको हो । यद्यपि उक्त निर्णयमा कुनै पनि कैदीको नाम सार्वजनिक गरिएको छैन । तर नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) निकट एक स्रोतका अनुसार ८० वर्षीया सुकीले पनि यस कटौतीबाट लाभ पाउने बताइएको छ ।

सन् २०२१ को सैन्य ‘कू’ पछि नजरबन्दमा राखिएकी सुकीको वास्तविक बाँकी सजाय कति छ भन्ने अझै स्पष्ट छैन । एनएलडीका एक वरिष्ठ सदस्यले सुरक्षाका कारण नाम नखुलाउने सर्तमा सुकीको सजाय घटे पनि कति समय घट्यो भन्ने यकिन नभएको बताए । सैन्य नेतृत्वले पाँच वर्षअघि सुकीको निर्वाचित सरकार हटाउँदै सत्ता कब्जा गरेको थियो ।

त्यसपछि उहाँमाथि विभिन्न आरोप लगाउँदै बन्द अदालतमार्फत मुद्दा चलाइएको थियो । भ्रष्टाचारदेखि कोभिड-१९ नियम उल्लङ्घनसम्मका अभियोगमा उहाँलाई तीन दशकभन्दा बढी कैद सजाय सुनाइएको थियो । पछि सन् २०२३ मा केही मुद्दामा आममाफी दिइएपछि उहाँको सजाय २७ वर्षमा झरेको थियो । पछिल्ला निर्णयले भने उक्त सजाय क्रमशः घट्दै गएको सङ्केत दिएका छन् । यस अघि पनि मिन आङ ह्लाइङले यस्तै प्रकारको सामूहिक सजाय कटौतीको आदेश जारी गर्नुभएको थियो, जसले सुकीको सजाय थप घटाएको थियो ।

उक्त निर्णयसँगै सुकीका नजिकका सहयोगी तथा पूर्वराष्ट्रपति विन मिन्टलाई पनि माफी दिइएको थियो । यसले सुकीको नजरबन्द अवस्था पनि क्रमशः खुकुलो हुन सक्ने अनुमानलाई बल दिएको छ । तर म्यान्माको न्याय प्रणाली अपारदर्शी रहेकाले सुकीले हालसम्म कति सजाय भुक्तान गरिसक्नुभएको छ र अब कति समय घट्ने छ भन्ने विषय अझै अन्योलमै छ । राजनीतिक विश्लेषकले यस अवस्थालाई सैन्य नेतृत्वको रणनीतिक कदमका रूपमा हेरिरहेका छन् ।

डेमोक्रेसी सम्बन्धी निगरानी संस्थाले भने यस्ता कदमलाई वास्तविक सुधारभन्दा पनि सरकारको छवि सुधार्ने प्रयासका रूपमा टिप्पणी गरेका छन् । उनीहरूका अनुसार सैन्य शासनले अन्तर्राष्ट्रिय दबाब कम गर्न यस्ता प्रतीकात्मक निर्णय गरिरहेको छ । सुकी म्यान्माभित्र अझै पनि लोकप्रिय राजनीतिक व्यक्तित्वका रूपमा रहनुभएको छ । तर उहाँको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै परिवारले चिन्ता व्यक्त गर्दै आएको छ ।

उहाँलाई लामो समयदेखि बाह्य सम्पर्कबाट लगभग अलग राखिएको छ । यसबिच, म्यान्माको राजनीतिक सङ्क्रमण अझै अन्योलपूर्ण अवस्थामा छ, जहाँ सैन्य नेतृत्वका निर्णयले सीमित सुधारको सङ्केत दिए पनि पूर्ण लोकतान्त्रिक पुनः स्थापनाको सम्भावना भने अस्पष्ट देखिएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु