फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय का शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल ले पदबाट अलग हुने निर्णय लिएका हुन्।
सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याउने तयारी गरेपछि उनीहरूले ‘मार्गप्रशस्त’ गर्दै राजीनामा दिएका जनाइएको छ। शिक्षाध्यक्ष केसीका अनुसार नयाँ व्यवस्थालाई सहज बनाउन र सरकारलाई काम गर्न सजिलो होस् भन्ने उद्देश्यले सामूहिक निर्णय गरिएको हो।
उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला २०८२ असार २५ गते नियुक्त भएका थिए भने शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति केशरजंग बरालको सिफारिसमा उनीहरूको नियुक्ति भएको थियो।
चार वर्षे कार्यकाल बाँकी रहँदै पदाधिकारीहरूको राजीनामाले विश्वविद्यालय प्रशासनमा तत्काल रिक्तता सिर्जना भएको छ। अब नयाँ नियुक्ति प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा सरकारको आगामी कदमलाई चासोका साथ हेरिएको छ, किनकि यसले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक दिशा निर्धारणमा प्रत्यक्ष प्रभाव पार्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाइको प्रतिक्रिया राख्नुहोस्