काठमाडौँ, १८ वैशाख : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धानपछि नवलपुरमा ७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गरेर फरार भएका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ ।
गत चैत २३ गते नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुलीमा ७५ वर्षीय जीवनराम थनेत र श्रीमती वर्ष ७१ की गुलवसनिया थनेतलाई निजहरू आफ्नै घरको बिस्तरामा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले निजहरूको टाउकोमा गह्रौँ वस्तुले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
उनीहरूले गुलवसनिया थनेतले घाँटी र कानमा लगाएको सुनका गरगहना समेत लुटेर लगेका थिए । उपचारार्थ चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएकामा घाइतेमध्येका जीवनराम थनेतको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।
उक्त घटनामा नवलपुर प्रहरीले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा अनुरोध गरेकामा ब्यूरोबाट प्रहरी निरीक्षकको कमाण्डमा विज्ञ टोली अनुसन्धानका लागि खटाइएको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार सिआइबी र प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) समेतको अनुसन्धानपश्चात उक्त घटनामा संलग्न बागलुङ घर भई सुकेधारा काठमाडौँ बस्ने सञ्जय विकलाई काठमाडौँमा पक्राउ गरिएको हो । उनी यसअघि पनि चोरी तथा व्यक्ति हत्याका दोषी हुन् । उनी कारागारमा रहेकै अवस्थामा फरार भएका फेलापरेको सिआइबीले जानकारी दिएको छ ।
उनीमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद थप भएको सिआइबीले विवरण सार्वजनिक गरी जानकारी दिएको छ ।
