
काठमाण्डौ : नेपालबाट भारतको नयाँदिल्ली तर्फ जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार बिहानको समयमा लखनउस्थित इकाना स्टेडियम नजिक ट्रकसँग ठोक्किएर सो बस दुर्घटना भएको हो ।
भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन मार्फत नेपालीहरु नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्ट लगायत घाइते भएको समाचार सार्वजनिक गरेको छ ।
घाइते हुनेहरूमा ६ महिनाको बालक समेत रहेको र अन्यको वतन नखुलेको जनाइएको छ ।
घटनापछि घाइतेहरुलाई लोहिया अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चालक निदाएका कारण उक्त दुर्घटना भएको समाचारमा उल्लेख छ भने नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
बस ट्रकसँग ठोक्किदा उक्त बसको अगाडिको भाग पुर्णरुपले क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएको जनाइएको छ ।