सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल

२०८३ भाद्र ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, ६ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा छिट्टै आवासीय विद्यालय स्थापनाका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ का विषयमा छलफल गर्न आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उहाँले विद्यालय स्थापनाका लागि सरकारले बजेटसमेत विनियोजन गरिसकेको उल्लेख गर्नुभयो

मन्त्री पोखरेलले विद्यालय सञ्चालनका लागि ‘मोडालिटी’ तय गर्न छलफल भइरहेको जानकारी दिँदै विद्यार्थी र अभिभावकलाई सँगै राखेर पढाई, थेरापी र अन्य रचनात्मक गतिविधि सञ्चालन गरिने बताउनुभयो ।

“सरकार गठन हुने वित्तिकै अटिजम भएका बालबालिकाका लागि देशका सातै प्रदेशमा एउटा एउटा आवसीय विद्यालय स्थापनाको घोषणा गरिसकेका छौँ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था पनि भइसकेको छ”, उहाँले भन्नुभयो, “यसै वर्षदेखि विस्तृत परियोजना प्रतिवेदन बनाएर कार्यान्वयनको प्रक्रिया अगाडि बढाउँछौँ । मूलधारको विद्यालयमा भर्ना गर्नुअघि त्यस्ता बालबालिकालाई आवासीय रूपमा स्वास्थ्य सेवा र आवश्यक शिक्षा दिने गरी मापदण्डको मस्यौदा बनेको छ । त्यसैमा यहाँहरूको रचनात्मक सुझाव आश्यक छ ।”

पछिल्ला वर्षमा अटिजम भएका बालबालिकाको समस्या विश्वव्यापी रूपमा बढ्दै गएको र कतिपय देशमा करिब तीनदेखि सात प्रतिशतसम्म बालबालिका यसरी जन्मिने गरेको भन्दै मन्त्री पोखरेलले सरकारले त्यस्ता बालबालिका र अभिभावका समस्या समाधानका लागि गम्भीर भएर सोचिरहेको बताउनुभयो ।  उहाँले अब बन्ने शिक्षा ऐन, नीति र मापदण्डमा अटिजमसम्बन्धी विषय समेटेर सरकारले काम गर्ने आधार थप प्रष्ट गर्दै जाने बताउनुभयो ।

“अटिजम भएका बालबालिकाको समस्या विश्वव्यापी रूपमा बढिरहेको छ । नेपाल पनि त्यसबाट ग्रस्त छ । त्यसकारण हामीले सबैसँग छलफल गरेर समस्या समाधानको पहल सुरु गरिसकेका छौँ”, मन्त्री पोखरेलले भन्नुभयो,“तर, यो समस्या सरकारको पहलले मात्रै समाधान हुँदैन, यसका लागि सिङ्गो समाज नै परिचालित हुनुपर्ने आवश्यकता छ ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता महतोले अटिजम भएका बालबालिकालाई बोझका रूपमा नलिई उनीहरूको रुचिअनुसार विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू पनि अटिजम भएका सन्तानकी आमा भएकाले संसद् र सरकारलाई यस मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न दबाब दिइरहेको र सरकारले पनि तदारुकताका साथ समस्या समाधानको पहल गरिरहेको बताउनुभयो ।

अटिजम भएका बालबालिकाका अभिभावहरूले आफूहरूले अन्य कुनै काम गरेर जीविकोपार्जन गर्ने समय नपाएको भन्दै वडा तहमा हेरचाह केन्द्र, छुट्टै आवासीय विद्यालय, थेरापी केन्द्र स्थापना र अभिभावकका लागि आयआर्जनको आधार बनाउन आग्रह गरेका थिए । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले यस्ता बालबालिकाको वास्तविक तथ्याङ्क र आवश्यकता पहिचान गरी सोअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटीका अध्यक्ष रमेश बस्नेतले अटिजम भएका बालबालिकालाई अन्य अपाङ्गता भएका बालबालिकाभन्दा फरक ढङ्गले हेरेर समस्या समाधानको पहल गरिनुपर्नेमा जोड दिनुभयो । शिक्षा विभागका शिक्षा अधिकृत दीपक माझीले हाल बनाइएको मस्यौदामा भएका प्रावधानबारे जानकारी दिँदै समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी