सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

२०८३ कार्तिक २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्दिया I घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ ।

तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन । परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ ।

बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सिर्जना थारुलाई यस वर्षको दसैँले झन् पीडा थपेको छ । घरमा जमरा राखिए पनि श्रीमान् बेपत्ता भएको पीडाले उहाँलाई पर्व मनाउने जाँगर छैन । आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, “दसैँ आएको छ, तर परिवारमा कुनै खुसी छैन ।” परम्पराअनुसार कुलदेवताको पूजा गरे पनि श्रीमान् बेपत्ता हुँदाको पीडाले दसैँ मनाउन नसकेको उहाँले बताउनुभयो । विगतमा परिवारसँगै बसेर खुसी साटासाट गरेको दसैँ सम्झँदा अहिले मन झन् भारी हुने उहाँको भनाइ छ ।

सोही गाउँका सुरेश थारु पनि भोटेकोशी बाढीमा बेपत्ता हुनुभएको छ । उहाँकी श्रीमती रमिता थारु श्रीमान् फर्किने आशामा दिनरात बिताइरहनुभएको छ । “रातदिन श्रीमान्कै प्रतीक्षामा छु । उहाँलाई सम्झेर दसैँ कसरी मनाउने ?” उहाँले भन्नुभयो । घरमा जमरा राखेर कुलदेवताको पूजा गरे पनि दुःखका कारण टीका नलगाई दसैँ बिताउने उहाँले बताउनुभयो ।

सिर्जना र रमिताजस्तै तिनघरवाका पाँच परिवार अहिले शोक र प्रतीक्षामा छन् । एउटै टोलका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गत भदौ १० गते भोटेकोशी बाढीमा परेर बेपत्ता भएका थिए । पाँच जना बेपत्ता भएपछि पीडा परिवारमा मात्र सीमित छैन, सिङ्गो गाउँ नै शोकमा डुबेको छ । बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पाँच परिवारमा परेको विपत्तिले गाउँका सबैलाई दुःखी बनाएको बताउनुभयो । आफन्त, गरगोतियार र छरछिमेकमा पनि यस वर्ष दसैँको रौनक नरहेको उहाँले बताउनुभयो ।

राजापुर नगरपालिका–९ तिनघरवा गाउँमा ७५ परिवार बसोबास गर्छन् । विगतमा रोजगारी, व्यवसाय र अध्ययनका लागि सहरबजार तथा जिल्लाबाहिर गएकाहरू दसैँ मनाउन गाउँ फर्किन्थे । गाउँमा चहलपहल हुन्थ्यो र सबैले मिलेर पर्व मनाउँथे । तर यस वर्ष बाढीको पीडाले गाउँको माहोल बदलिएको छ । गाउँका बरघर बरुण थारुले यस वर्ष गाउँमा दसैँको रौनक नरहेको बताउनुभयो । “दसैँ आएको छ, तर गाउँमा मादल बज्दैन । कसैको मनमा पनि खुसी छैन,” उहाँले भन्नुभयो । बाढीको पीडाका कारण तिनघरवासीले यसअघि अटवारी र तीज पनि उल्लासपूर्वक मनाउन नसकेको स्थानीयले बताएका छन् ।

भोटेकोशी बाढीमा बेपत्ता भएका मजदुरका परिवारले अहिलेसम्म सरकारी राहत नपाएको गुनासो गरेका छन् । आफन्तको काजकिरिया गर्न खर्च अभाव भएको उनीहरूको भनाइ छ । बेपत्ता सुरेश थारुकी श्रीमती रमिताले काजकिरियाका लागि आर्थिक समस्या भएको बताउनुभयो । स्थानीय सरकारले किरियाखर्च उपलब्ध गराउने आश्वासन दिए पनि अहिलेसम्म नपाएको उहाँको गुनासो छ ।

राजापुर नगरपालिकाका विपद् सम्पर्क व्यक्ति खुसीराम थारुका अनुसार सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई मृत घोषणा नगरेकाले काजकिरियाका लागि राहत उपलब्ध गराउन समस्या भएको हो । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरिएमा स्थानीय सरकारले काजकिरियाका लागि रु ५० हजारसम्म सहयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

बेपत्ता राजु थारुका दाइ तुलाराम थारुले पनि सरकारले कुनै किसिमको राहत वा सहयोग उपलब्ध नगराएको गुनासो गर्नुभयो । उहाँका अनुसार राजु काममा गएको ज्यालासमेत पाउनुभएको छैन । “यहाँबाट कामदार लगेको ठेकेदारसँग फोनमा सम्पर्क भए पनि प्रत्यक्ष भेटघाट भएको छैन,” उहाँले भन्नुभयो । बेपत्ता परिवारलाई राहत उपलब्ध गराउन र बाँकी ज्याला दिलाउन सरकारले प्रभावकारी पहल नगरेको उहाँको गुनासो छ ।

भोटेकोशी बाढीमा राजापुर नगरपालिका–९ तिनघरवाका पाँच जनासहित राजापुर नगरपालिकाका ११ जना बेपत्ता छन्। बर्दियाबाट ७६ जना बेपत्ता छन् । शम्भुप्रसाद थारु/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी