सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

२०८३ कार्तिक १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), १७ कात्तिकः तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ ।

धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार नौ हजार ५०० भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन् । सोमबार राति ४२१ भक्तजन जाग्राम बसेर बत्ती बालेका थिए । थापाका अनुसार मन्दिरमा तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौँबाट दुई वटा फूलको डोली ल्याइएको थियो ।

प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । ती दिन मन्दिरमा डोली चढाउन विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । फूलको डोली चढाए मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको अध्यक्ष थापाले बताए ।

भक्तजनले फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीन पटक परिक्रमा गर्ने गर्छन् । त्यसपछि मन्दिर परिसरका देवलमा डोलीसँगै ल्याइएको तोरण तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र गई पूजाआराधना गर्ने परम्परा छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार पार्ने र मङ्गलबार मन्दिरमा चढाउने चलन छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाआराधना हुने गरेको छ । समुद्री सतहबाट एक हजार २०० मिटर उचाइमा रहेको मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार र लमजुङको राइनासकोटलगायत स्थान तथा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो ।

स्थानीयका अनुसार मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो । किंवदन्तीअनुसार त्यस वर्ष हावाहुरी चलेपछि भोटीनी आमाछोरी मन्दिर रहेको स्थानको एउटा रुखमुनि ओत लागेका थिए । उनीहरू त्यहीँबाट अन्तध्र्यान भएपछि उक्त स्थानमा पूजाआराधना सुरु गरिएको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल