सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क मावि

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २३ कात्तिक: म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ ।

दसैँतिहारको लामो बिदामा विद्यार्थीले घरमा कसरी समय बिताइरहेका छन् ?, गृहकार्य गरेका छन् कि छैनन् ?, पर्वसँगै प्रयोगात्मक सीप सिकिरहेका छन् कि छैनन्?, घरमा पढ्ने वातावरण कस्तो छ ? अभिभावकले पढाइप्रति कस्तो चासो राख्नुभएको छ ? लगायत यी प्रश्नको जवाफ खोज्दै विद्यालयले घरदैलो अभियान सञ्चलन गरेको हो ।

दसैँ र तिहारबीचको लामो बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीको घरमै पुगेर उनीहरूको पठनपाठन र क्रियाकलापको अवस्था बुझ्ने उद्देश्यले अभिभावक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको विद्यालयका शिक्षक गणेश केसीले बताउनुभयो । यही कात्तिक १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत विद्यालयको सेवा क्षेत्रका विभिन्न बस्ती र समुदायमा पुगेर शैक्षिक अवस्थाको अनुगमन गर्नाका साथै अभिभावकसँग छलफल गरिएको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक र पूर्वविद्यार्थीको प्रतिनिधित्व रहेको टोलीले घरघरमा पुगेर विद्यार्थीको गृहकार्य, पठनपाठन, घरको वातावरण र बिदाको समयमा उनीहरूले गरिरहेका गतिविधिबारे जानकारी लिएको शिक्षक केसीले बताउनुभयो ।

अध्ययनलाई निरन्तरता दिन टोलीले विद्यार्थी र अभिभावकलाई सुझाव तथा परामर्श दिनाका साथै विद्यालयको शैक्षिक सुधारका विषयमा अभिभावकसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका क्रममा अभिभावकले आफ्ना अनुभव, अनुभूति र सुझाव प्रस्तुत गरेका थिए । विद्यालयले आगामी योजना र शैक्षिक सुधारका प्रयासबारे पनि अभिभावकलाई जानकारी गराएको थियो ।

विद्यालयको नियमित पठनपाठन सञ्चालन भइरहेका बेला मात्र विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने परम्परागत अभ्यासभन्दा बिदाको समयमा घरमै पुगेर उनीहरूको अध्ययन र पारिवारिक वातावरण बुझ्ने प्रयासलाई विद्यालयले नयाँ अभ्यासका रूपमा अघि बढाएको हो ।

विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बिदाको समयमा विद्यार्थीले घरमा गर्ने क्रियाकलाप र अध्ययनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै अभिभावकसँग अन्तरक्रिया गर्दा शैक्षिक उपलब्धि वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको सिकाइमा विद्यालयको प्रयाससँगै घरपरिवारको भूमिका पनि महत्वपूर्ण हुने भएकाले अभिभावकसँगको सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिइएको हो ।

कार्यक्रमका क्रममा विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाबाट उत्साहजनक सहभागिता र विद्यालयप्रति सद्भाव प्राप्त भएको शिक्षक केसीले बताउनुभयो । घरदैलो कार्यक्रमले विद्यार्थीको पढाइप्रति अभिभावकको चासो बढाउनाका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक पक्ष सुधारका लागि आवश्यक सुझाव सङ्कलन गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

विद्यालयको सेवा क्षेत्रका अधिकांश बस्तीमा पुगिसकेको टोलीले बाँकी रहेका स्थानमा पनि छिट्टै भेटघाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । भेटघाटका क्रममा प्राप्त सुझावलाई विद्यालयको आगामी योजना र सुधारका कार्यक्रममा समेट्दै कार्यान्वयन गर्दै जाने विद्यालयले जनाएको छ ।

विद्यार्थीको सिकाइलाई कक्षाकोठाभित्रको शिक्षणमा मात्र सीमित नराखी घरको वातावरण, अभिभावकको चासो र समुदायको सहभागितासँग जोड्ने जामुनाखर्क माविको यो प्रयासले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो