सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी। मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ ।

दीपावली पर्वको अन्तिम दिन मनाइने भैयादुजसँगै यस वर्षको दीपावली पर्व सम्पन्न हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरसबाट सुरु भएको दीपावली पर्व तिथिको घटबढका कारण यस वर्ष छ दिनसम्म मनाइएको हो । सामान्यतया पाँच दिन मनाइने यो पर्व यस वर्ष एक दिन लम्बिएको छ ।

मधेस प्रदेशको महोत्तरीसहित मिथिला क्षेत्रका दिदीबहिनी आज दाजुभाइको पूजनको तयारीमा छन् । यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई घरमा निम्त्याएर पूजा गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भनिन्छ ।

विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निम्त्याएर पर्व मनाउने चलन छ भने अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले स्वनिवासमै यो पर्व मनाइन्छ ।

पहाडी समुदायमा तिहार भनिने यस पर्वलाई मैथिली भाषामा दिवाली वा दीपावली भनिन्छ । पर्व मनाउने विधि पहाडी र मैथिल समुदायमा केही फरक भए पनि यसको पौराणिक कथावस्तु एउटै रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक तथा मैथिल लोकसंस्कृतिका जानकार शोभाकान्त झाले बताउनुभयो ।

उहाँका अनुसार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्य, कल्याण र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथासँग यस पर्वको परम्परा जोडिएको छ ।

मैथिल परम्पराअनुसार भैयादुजमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन् । निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण र कोसेली लिएर जाने चलन छ । दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन अर्थात् चतुर्भुज आकारको घेरा बनाउँछन् । त्यसपछि उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाएर कोपरामा राखी तातोपानीले गोडा धुने परम्परा छ ।

त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी दिएर सप्तरङ्गी टीका लगाइदिने चलन छ । पूजा विधि पूरा भएपछि दिदीबहिनीले गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइमा कायम रहोस् भन्ने कामनासहित गीत गाउँछन् ।

यस क्रममा दाजुभाइलाई सुकेको केराउ चपाउन दिने विधिलाई ‘बजरी खुवाउने’ भनिन्छ । कडा केराउको दानालाई वज्रसँग तुलना गरी ‘बजरी’ भनिएको मैथिल समुदायका जानकार बताउँछन् । जलेश्वर नगरपालिका–५ पर्साकी महिला सामाजिक अगुवा अनिता शर्माका अनुसार यस विधिले दाजुभाइको शरीर वज्रझैँ बलियो र कठोर होस् भन्ने कामना व्यक्त गर्छ ।

पूजा विधि पूरा भएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन् । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । यस पर्वको पूजाका लागि मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा द्वितीया तिथिको शुभसाइत निर्धारण गरिन्छ ।

मिथिलामा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने अन्य पर्व पनि छन् । साउन पूर्णिमामा मनाइने राखी पर्वको कथा पनि राजा बलि र उनका बहिनी गङ्गा तथा यमुनासँग जोडिएको छ । त्यसैगरी कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भगवान् श्रीकृष्णका छोरा साम्ब र छोरी सामाबीचको प्रेम, स्नेह, समर्पण र त्यागको कथामा आधारित मानिन्छ ।

यी तीनवटै पर्व दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, पारिवारिक सद्भाव र समर्पणका प्रतीक रहेको मैथिल समुदायका अगुवाहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल