सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २७ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ ।

आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को आज गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत पठनपाठन, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधार गर्ने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपन्न, भौगोलिक रूपमा विकट तथा पहुँचबाहिरका स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालनमार्फत सिकाइ उपलब्धि बढाउने लक्ष्य राखिएको छ । प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर सुधार गरी अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजानुपर्ने बाध्यता कम गर्नु पनि महायज्ञको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

महायज्ञबाट रु तीन करोड सङ्कलन र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो । महायज्ञ सुरु हुनुअघि नै रु ४० लाखभन्दा बढी सहयोग घोषणा भइसकेको उहाँले जानकारी दिनुभयो । प्रवास तथा देशका विभिन्न स्थानमा रहेका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

महायज्ञमा भागवत पाठ–पारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती र झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १९६ विद्यार्थी अध्ययनरत छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयमा विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन हुँदै आएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु प्रमुख शैक्षिक चुनौती बनेको उल्लेख गर्दै दीपशिखा माविले अघि सारेको स्मार्ट तथा आवासीय विद्यालयको अवधारणा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयको अभियानलाई प्रदेश तहबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महायज्ञ सुरु हुनुअघि कुहुँदेखि टोड्के हुँदै पूर्णगाउँ भएर पुनः कुहुँसम्म कलशयात्रा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो