
काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।
नेकपा जिल्ला कमिटी कास्कीको शुक्रबार सम्पन्न बैठकले प्रतिनिधि सभाको रिक्त पदमा उम्मेदवारको लागी उनको नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बताएका छन् ।
नेकपा केन्द्रीय कार्यालयले कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा आकांक्षी उम्मेद्वारहरुको नामावली पठाउन जिल्ला पार्टी कमिटीलाई एक साताअघि नै पत्राचार गरिसकेको थियो ।
कास्की क्षेत्र नम्वर २ बाट प्रत्यक्ष विजयी भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गत फाल्गुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
यसअघि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की २ को उम्मेद्वारको रुपमा रजनी केसीलाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ ।
नेपाली कांँग्रेसले भने हालसम्म उम्मेद्वार चयन गर्न सकेको छैन । कांग्रेस जिल्ला कार्यसमिति कास्कीले उम्मेद्वार बन्न आकांक्षी १६ जनाको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ ।