सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बर्दिया, १ मङ्सिरः बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगञ्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

रु ६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने दुई लेनको पुल ४२० मिटर लामो र ११ मिटर चौडा हुनेछ । निर्माण व्यवसायीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन र पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले विसं २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताउनुभयो । उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ ।

पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएको उहाँले बताउनुभयो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए । विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि भने आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताउनुभयो ।

बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने बाध्यता छ । नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा पलाएको उहाँले बताउनुभयो ।

बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का स्थानीयवासी सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यतामा छन् । शुल्क तिरेर नदी वारपार गर्नुपर्दा थप आर्थिक भारसमेत पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना