सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मधेसको सत्ता राजनीतिमा नयाँ समीकरणको खोजी

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा, १ मङ्सिर : मिथिला क्षेत्रको मुख्य चाड छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलको सक्रियता बढेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरण, नेतृत्व र मन्त्रालय बाँडफाँटबारे छलफल तीव्र तुल्याइएको छ ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार गठन गर्ने विषयमा अहिले नेताहरूबीच संवाद अघि बढेको छ । प्रारम्भिक छलफलमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने त्यसमा एमाले र नेकपाले समर्थन गर्ने गरी समीकरण निर्माण गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते पदबाट राजीनामा दिनुभएको थियो । एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि विश्वासको मत लिने प्रक्रियामा प्रवेश गर्नुअघि नै उहाँले पद त्याग्नुभयो ।

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाअघि बढेको छ । प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखले आगामी मङ्सिर ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा निर्धारण गर्नुभएको छ । नेकपाका नेता भरतकुमार साहले जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परिपाटी रहेकाले जसपाकै नेताको सम्भावना बलियो छ । यद्यपि अन्य नेताको पनि दाबी छ ।”

जसपा नेपालका नेता जीतेन्द्र सोनारले भने मुख्यमन्त्रीको उम्मेदवारका विषयमा पार्टीभित्र औपचारिक छलफल भइ हालसम्म निष्कर्षमा पुगी नसकेको  बताउनुभयो । सरकार गठन र मन्त्रालय बाँडफाँटबारे अहिले नै केही भन्न नसकिने उहाँको भनाइ छ । सोनार यसअघि मधेस प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलका नेता हुनुहुन्थ्यो । लोसपा नेपाल गत पुस २७ गते जसपा नेपालमा समाहित भएको थियो ।

एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले पनि नयाँ सरकार गठनका विषयमा अनौपचारिक छलफल भइरहेको बताउनुभयो । उहाँले औपचारिक निर्णयका लागि तीन दलबीच थप छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जसपा नेपालका नेता मनिषकुमार सुमनले पनि आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने परिस्थिति देखिएको बताउनुभयो । प्रदेशसभामा जसपा नेपालको सिट सङ्ख्या अन्य दलको तुलनामा बढी रहेकाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा जसपा नेपालका नेता लालबाबु राउतले विसं २०७४ फागुन २ देखि विसं २०७९ पुस २९ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । मधेस प्रदेश स्थापनापछि पहिलो कार्यकाल उहाँकै नेतृत्वमा सरकार  गठन भएको थियो ।

प्रदेशसभाको दोस्रो निर्वाचनपछि जसपा नेपालका सरोजकुमार यादव विसं २०७९ पुस २९ गते मुख्यमन्त्री बन्नुभयो । तर, प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ विसं २०८१ जेठ २३ गते पदमुक्त हुनुभयो । त्यसयता मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम निरन्तर जस्तै बनेको छ । जसपा नेपालका सरोजकुमार यादवपछि विसं २०८१ जेठ २५ गते जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बन्नुभएको थियो । सिंहले विसं २०८२ असोज २८ गते राजीनामा दिएपछि तत्कालीन लोसपाका जीतेन्द्र सोनारले विसं २०८१ असोज २९ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।

विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उहाँले सोही वर्षको कात्तिक २२ गते एक महिनाभित्रै राजीनामा दिनुभएको थियो । त्यसपछि एमालेका सरोजकुमार यादव सोही कात्तिक २३ गते मुख्यमन्त्री बन्नुभयो । उहाँले सोही बर्षको मङ्सिर १७ गते पनि विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि पदबाट राजीनामा दिनुभयो । त्यसपछि मङ्सिर १९ गते कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्नुभयो ।

उहाँले गत कात्तिक २८ गते राजीनामा गरेसँगै प्रदेशमा पुन: नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । १०३ सदस्यीय मधेस प्रदेशसभामा उपलब्ध दलगत विवरणअनुसार जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक सिट छ ।

प्रदेशसभामा सदस्यको सङ्ख्या र दलहरुबीचको हुने गठबन्धनका आधामा नयाँ सरकार गठनको समीकरण बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु