काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्दै स्थानीयबाट जनगुनासो आएपछि प्रशासन र प्रहरीले संयुक्त रूपमा चेकजाँच गरेको हो।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको ३० जनाको संयुक्त टोलीले मंसिर १ गते दिउँसो करिब ३ बजे रिसोर्टमा छापा मारेको थियो। प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको टोलीले ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पुर्याएको हो।
रिसोर्टमा चेकजाँच गर्ने क्रममा दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप र मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ। बरामद सामग्री तथा चिनियाँ नागरिकको गतिविधिबारे थप अनुसन्धान भइरहेको छ।
उक्त रिसोर्ट प्रहरी चौकी पाँचखालबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
