सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाल्पा, ४ मङ्सिरः पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।

सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ ।

मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालनहुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।

उहाँका अनुसार मेलाकालागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ ।

सत्यवतीबज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । धार्मिक तथा सांस्कृतिकमर्यादा कायम राख्न मेला क्षेत्रमा मदिराजन्य पदार्थको बिक्रीतथा सेवनलाई निषेध गरिएको समितिले जनाएको छ । सत्यवती मेलाको अर्को विशेषता रातको समयमा लिङ्गो गाडेर वर माग्ने परम्परा हो ।

भक्तजनले बाँस, निङ्गालो, साललगायतका काठबाट बनेका लिङ्गो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो पहिचान गरी पूजा गरेपछि घर फर्कने चलन छ ।

मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत रहिआएको छ । परापूर्वकालमा सत्यवतीबज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्तीप्रचलित छ । कानले नसुन्ने देवी भएकाले भक्तजनले आफ्नो मनोकामना चिच्याएर सुनाउने गरेको धार्मिक मान्यता छ ।

विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलनथियो । पछिल्लो समय भने कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म नै रातदिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ ।

सत्यवतीबज्यैको तीनतले नयाँ मन्दिर निर्माण

यस वर्षको सत्यवती मेलाको अर्को आकर्षण नवनिर्मित मन्दिर बनेको छ । पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ तीनतले मन्दिर निर्माण गरेको हो ।

रु ६५ लाख ५८ हजारभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । पुरानो मन्दिर जीर्ण र सानो भएकाले नयाँ संरचना निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार नयाँमन्दिर सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएपछि यस वर्ष मेलामा आउने भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न पाउने भएका छन् ।

यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ । सडक सुधार र नयाँ मन्दिर निर्माणले मेलामा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ ।

धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ ।

हरेक वर्ष हजारौँ भक्तजनको आगमन हुने यस मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पु¥याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

मिथिलाक्षेत्रमा घरआँगनमै छठघाट तयार गरी पर्व मनाउनेक्रम बढ्दै