
काठमाण्डौः राष्ट्रप्रमुख, सरकार प्रमुख एवं प्रमुख दलका शिर्ष नेताहरूले परिवार एवं आफन्तसँगै बसेर भाइटीका लगाएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री देखी दलका प्रमुख नेताहरूसम्मले दाजुभाइ तथा दिदीबहिनीको हातबाट भाइटीका लगाएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर ५५ मिनेटको उत्तम साइतमा जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । उनी टिका लगाउन बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइट स्थित पाण्डे निवाश पुगेकी थिइन् ।
उपराष्ट्रपति नन्द बहादुर पुनले रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँ स्थित आफ्नै घरमा दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीबाट ११ बजेर ५५ मिनेटको शुभसाइतमा भाइटीका ग्रहण गरेका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा १ बजेर ३८ मिनेटको समयमा पाँच बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले कमलादी स्थित बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट बिहान १० बजेर ५१ मिनेटमा टीका लगाएका छन् । उनले भाइटीकाको साइत पूर्व नै टिका ग्रहण गरेका छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको खुमलटारस्थित निवासमा बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट तिहारको टीका लगाएका छन् । यद्दपी उनले लगाएका तश्विरभने सार्वजनिक गरिएका छैनन् ।
यसैगरी पूर्व प्रधानमन्त्री एवं सत्तारूढ समाजबादी पार्टी संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वतीको हातबाट भाइटीका ग्रहण गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर चार दिदीबहिनीको हातबाट टीका लगाएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाएनन्। जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पनि जुठो परेका कारण भाइटीका लगाउन पाएनन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको हातबाट भाइटीका लगाएका छन् ।