
काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोगमा असोज १९ गते प्रहरी हिरासतमा रहेका महराविरुद्ध प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा बिहीबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो ।
प्रहरीले घटनाको अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्ष सहित सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनका आधारमा “करणीको उद्योग गरेको” मुद्धा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मु्लुकी अपराधसंहितामा जबरजस्ती करणी उद्योग गरेमा हुने सजाँयका अतिरिक्त सार्वजनिक पदमा बसेर कसुर गरेको भन्दै थप सजाँयको माग गरिएको छ ।
मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसुर गरेको अभियोगको मागदाबी गरिएको छ । संघीय संसद्को सभामुख जस्तो पदमा रहेर उक्त पदको दुरुपयोग गरी कसुर गरेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाँय होस भनेर मागदाबी लिइएको छ ।
दफा २१९ को उपदफा (ङ)ले अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्धा दर्ता भएकाले त्यसको आधा सजाँय हुने व्यवस्था मुलुकी अपराध संहितामा उल्लेख छ ।
तर सरकारी तथा सार्वजनिक पदमा रहेकाले डेढी सजाँय हुने मागदाबी परेकाले महरालाई कम्तीमा ५ वर्षको सजाय माग दाबी गरेर मुद्दा दायर भएको हो ।
अदालतमा मुद्दा दायर भएसँगै अब शुक्रबारदेखी थुनछेक बहस शुरू हुने छ । महरामाथि लगाइएको अभियोगमाथि महरा पक्षका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि महरा धरौटीमा छुट्ने वा पुर्पक्षका लागि कारागार चलान हुने भन्नेबारे अदालतले फैसला गर्ने छ ।
बिहीबार ढिला गरी मुद्दा दर्ता भएकाले थुनछेक बहस बिहीबार नै हुन नसकेको र शुक्रबारका लागि बोलाइएको हो ।