
काठमाण्डौ: राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरूलाई नियुक्त गरेकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम राष्ट्रपति भण्डारीले सोमबार सातवटै प्रदेशका प्रमुखलाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा प्रदेश प्रमुखहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
नवनियुक्त प्रदेश प्रमुखहरूमा प्रदेश १ को प्रमुखमा कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ प्रमुखमा बाँकेका तिलक परियार, प्रदेश नम्बर ३ प्रमुखमा झापाका विष्णु प्रसाद प्रसाई रहेका छन् ।
यसैगरी गण्डकी प्रदेश प्रमुखमा चितवनका अमिक शेरचन, प्रदेश ५ प्रमुखमा सिराहाका धर्मनाथ यादव, कर्णाली प्रदेश प्रमुखमा वैतडीका गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुखमा चितवनकी शर्मिला कुमारी पन्त मोहनराज मल्ल रहेका छन् ।
सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नामावली तय गरेको थियो भने अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सोही निर्णयलाइ अनुमोदन सहित राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
नवनियुक्त भएका प्रदेश प्रमुखहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार विहान साँढे आठ बजे राष्ट्रपति कार्यालय शितलनिवाशमा आयोजना गरिएको राष्ट्रपति कार्यालय स्रोतले हरियाली नेपाललाइ जानकारी दिएका छन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।