
काठमाण्डौ: नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवर्द्धन गरिने भएको छ ।
यही कात्तिक २२ देखि २४ सम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्पोमार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने भएको हो ।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्व र नेपाल पर्यटन बोर्डको सहकार्यमा अन्तरराष्ट्रिय स्तरमा नेपालको उद्योग प्रवर्द्धन गर्नका लागि उक्त मेलामा सहभागिता जनाउने नाट्टाका महासचिव रमेश थापाले जानकारी दिएका छ्न् ।
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन ग्रिस पर्यटन मेलामा हुने सहभागिताले सहयोग अपेक्षा सहित युरोपियन मुलुकका पर्यटकलाई नेपाल ल्याउन समेत सहयोग पुग्ने छ ।
नेपालको तर्फबाट सो मेलामा आनन्द एडभेन्चर ट्रेक प्रालि, अपोइटमेन्ट नेपाल इन्टरनेशनल प्रालि, कोलम्वस ट्राभल्स एण्ड टुर्स प्रालि, कोइली टुर्स प्रालि, मकालु एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालि, एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्स प्रालि, मिसन नेपाल होलिडेज, सयपत्री ट्राभल्स नेपाल प्रालि, स्वर्गद्धारी ट्राभल्स एण्ड टुर्स प्रालि र अन्लिज्ड नेपाल इन्टरनेशनल प्रालिको सहभागिता हुने नाट्टाले जनाएको छ ।
नाट्टाले विगतमा विभिन्न देशको मेलामा सहभागिता जनाउँदै आएतापनी युरोपमा भने पहिलोपटक सहभागिता जनाउन लागेको महासचिव थापाले बताएका छ्न् ।
नेपालको पर्यटन उद्योगको विकासमा यस्ता किसिमका मेलाको सहभागिताले सहयोग पुग्ने नाट्टाले जनाएको छ ।