
काठमाण्डौ: बझाङमा खेत जोत्ने क्रममा द्धन्द्धकालमा लुकाई राखेको २० थान सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
बुंगल नगरपालिका वडा नम्बर ६ दानतोली भन्ने ठाँउमा देउमल धामीको बारीमा जमिनमुनी कालो प्लाष्ट्रिकको ड्रम भित्र लुकाई राखेको अवस्थामा ठूलो परिमाणमा सकेट बम फेला परेको हो ।
मंगलबार साँझ धामीले बारीमा हलो जोत्ने क्रममा हलोको टुप्पो बम लुकाइएको प्लास्टिकको ड्रममा अडकिएपछि धामी लगायत किसानहरुले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए ।
सो ठाँउबाट १२५ ग्राम विष्फोटक पदार्थ नेपोलो सुपरफाइन नामक पाउडर समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिएका छ्न् ।
बम भएको स्थानलाई प्रहरीले मंगलबारदेखि नेपाल प्रहरीले निगरानी गरेको थियो भने बुधबार सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीले सबै बमलाई निस्क्रिय बनाएको डीएसपी बमले बताएका छ्न् ।
खिया लागेको अवस्थामा भेटिएका ती बम द्धन्द्धकालमा लुकाएको अनुमान प्रहरीले गरेको छ ।