
काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
शुक्रबार मध्यान्ह गौमुल गाउँपालिका वडा नम्बर ३ स्थित माझपालीबाट चन्दा संकलन तथा संगठन विस्तार गर्दै गाउँमा हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिका-३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणि ओली (आदर्श) सहित १६ जना कार्यकर्ताहरू पक्राउ परेको प्रहरी उपरीक्षक भाटले बताए ।
पक्राउ पर्नेहरूमा केन्द्रिय सदस्य चुडामणि ओलि (आदर्श) पार्टी कार्यकर्ताहरू डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा रहेका छन् ।
त्यसैगरी उदय कशेरा, राजेश कुमार शाही, डबल बहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक, सृष्टि सिंह, कृष्ण बिक पनि पक्राउ परेका छन् ।
गत बैशाख ६ गते दाङ्गको तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट पक्राउ केन्द्रिय सदस्य ओलीलाई सुनसरी जिल्ला अदालतले गत असार २४ गते साधारण तारिकमा रिहा गरेको थियो ।
शुक्रबार पक्राउ परेका सबै जनाको जिल्ला प्रहरी कार्यालय बाजुरामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।