काठमाण्डौः नेपाल-युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाण्डौंमा शुरू भएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी र एशिया-प्रशान्त क्षेत्रका लागि संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघ बीचको सम्बन्धका सबै पक्षबारे विचार विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा व्यापार-वाणिज्यका साथै आर्थिक तथा विकास सहायता, संयुक्त लगानी, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यावरण, मानव संशाधन विकासका क्षेत्रमा संघद्धारा प्राप्त सहयोग अभिवृद्धि लगायतका विषयमा पनि विचार विमर्श हुनेछ । बैठकमा नेपालको राजनीतिक स्थितिबारे पनि छलफल हुनेछ ।
संघले मानवीय सहायताका साथै युरोपेली लगानी बैंक मार्फत भौतिक पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउँदै आएको छ ।
एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका निम्ति उक्त बैंकले पाँच करोड ५० लाख युरो ऋण सहयोग गरेको छ । भूटानी शरणार्थीलाई खाद्य सहयोग तथा शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय मार्फत पनि सहयोग गर्दै आएको छ ।
