काठमाण्डौ: सीमा विवाद सम्बन्धि सर्वोच्चमा दायर भएको निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ईजलासमा सुनुवाई हुने भएको छ ।
भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनैतिक नक्सामा नेपाली भूमि अतिक्रमण गरेको विषयमा बुधबार अधिवक्ता कञ्चनकृष्ण न्यौपानले दायर गरेको सार्वजनिक सरोकारको निवेदनमा राणाको एकल ईजलास गठन अन्तर्गत सुनुवाई गरिन लागेको स्रोतले जनाएको छ ।
कालापानी, सुस्ता, लिपुलेक, लिम्पियाधुरा आदि नेपाली भू-भाग भारतबाट अतिक्रमण भएकोले कूटनीतिक पहल मार्फत समस्याको समाधान खोज्न सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।
त्यस्तै सो रिटमा नेपाली भू-भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीति-नियम बनाई राष्ट्रहित कार्यमा कार्य गर्न परमादेशको माग गरिएको छ । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
सोही रिट निवेदनमा राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमानको रक्षा र सुरक्षा गर्न समेत माग गरिएको छ ।
