
काठमाण्डौ: प्यूठानको स्वर्गद्धारीस्थित कोलवाङ्ग भिरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्वर्गद्धारी नगरपालिका ४ भिंग्रीबाट बिहीबार बिहान पानी बोकेर स्वर्गद्धारी जान लागेको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन नसकेको स्वर्गद्धारी नगरप्रमुखका स्वकिय सचिव रमेश पोख्रेलले जानकारी दिएका छ्न् ।
सो जिप कोलवाङ्ग स्थित सडकबाट करिब चार सय मिटर तल खसेको थियो । जिपमा सवार तीन जना घाइतेको स्थानिय प्राथमिक स्वास्थ्य चौकी भिंग्रीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिपका सवारी चालक हाल फरार रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।