काठ्माण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बंगलादेशि राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा करिब आधा घण्टा बन्द हुने भएको छ ।
चार दिने मैत्रीपुर्ण भ्रमणका लागी गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपरान्ह पाँच बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपरान्ह चार बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नेछन् । गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए ।
नेपाल भ्रमणको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
