
काठमाडौं: प्रधानमन्त्रीको सचिवालयमा कार्यरत ६ जनाको राजिनामा स्वीकृत भएको छ ।
गत शुक्रबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका सचिवालयका छ जनाको राजीनामा स्वीकृत भएको बालुवाटार स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको सचिवालयमा कार्यरत १३ जना सल्लाहकार र स्वकीय सचिवालय सदस्यहरुले दिएको राजीनामामध्ये ६ जनाको मात्रै स्वीकृत भएको हो ।
बालुवाटार स्रोतका अनुसार राजिनामा स्वीकृत हुनेहरुमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको स्वीकृत भएको हो ।
प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत ७ जना अन्य सदस्यहरुको राजीनामा स्कीवृत भएको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालको राजीनामा स्वीकृत भएपछि अब ओलीले सो ठाउँमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापालाई नियुक्तिको तयारी गरेका छन् ।
झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार बनेका नेता थापाको पृष्ठभूमि पत्रकारिता हो । उनलाई ईश्वर पोखरेलको सल्लाहअनुसार प्रेस सल्लाहकारमा नियुक्त गर्ने तयारी भइरहेको नेकपा स्रोतको दावी रहेको छ ।